एनआरएनए यूकेको नाममा आसन्न निर्वाचन अवैधानिक, समाज भांड्न खोज्नेलाई ठीक पारिने गाहामगरको चेतावनी


लन्डन- गैरआवासीय नेपाली संघ London (एनआरएनए यूके) ले आसन्न निर्वाचन र अधिवेशन अवैधानिक एवं समाज भांड्न गरिएको आरोप लगाउंदै त्यसमा विश्वास नगर्न अपिल गरेको छ ।

अल्डरसटस्थित ठमेल रेष्टुरेन्टमा बुधबार एक पत्रकार सम्मेलन गर्दै संघले सर्वोच्चको परमादेशमा गठित उच्चस्तरिय समितिले एकता महाधिवेशन गरेर काठमाडौंमा महेश श्रेष्ठ र सोही अनुरुप एनआरएनए यूकेको नेतृत्व प्रेम गाहामगरलाई दिइसकेको प्रष्ट्याएको छ ।

संघका अध्यक्ष गाहामगरले विगत ५ वर्षदेखि बेलायतमा विवाद रहेपनि सर्वोच्च अदालतले परमादेश जारी गरि डा. शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरिय समितिले एकता महाधिवेशनमार्फत आइसीसी र बेलायतमा आधिकारिक कमिटी चयन गरिसकेको जनाए ।

उक्त कमिटीलाई नेपाल सरकार परराष्ट्र मन्त्रालयले समेत मान्यता दिएर जेठ ८ मा विश्वभरका कूटनीतिक नियोगहरुमा पत्राचार गरेको पनि गाहामगरले बताए । गाहामगरले लन्डनस्थित दूतावाससंग आफूहरु निकट रहेको तर कानूनी झमेलामा राजदूतावास संलग्न नहुने र उसले आसन्न अधिवेशनलाई मान्यता पनि नदिने प्रष्ट्याए ।

अध्यक्ष गाहामगरले विवादास्पद छवि भएका रामशरण सिम्खडा लगायत केही पात्रले बेलायतमा मिलेर बसेको समाज बिथोल्न यही २६ र २७ जुलाईमा एनआरएनए यूकेको अधिवेशन भन्दै जातीय द्वन्द्व ल्याउन खोजेको आरोप लगाए ।

‘डा. बद्री केसी समूहका एमालेका झोलेहरुले विदेशमा दले भएर समाज भांड्ने काम गरेकाले त्यसलाई स्पष्ट पार्न पत्रकार सम्मेलन गर्नु परेको हो । आउंदो अधिवेशन आधिकारिक होइन’, गाहामगरले भने ।

उनले सुनिल बाबु खड्का र बिष्णु खरेलले बेलायतमा निधन भएकी विधार्थी सदीक्षा तामाङको नाममा उठेको १० हजार पाउन्ड आँफै खाएको र पद मुक्त भएपछि पनि च्यारिटीको अरु पैसा हिनामिना गरेकाले छिट्टै कानुनी बाटो रोजिने बताए ।

गाहामगरले वंशजको नेपाली नागरिकता निरन्तरताका लागि आफूहरु लडिरहेको जनाउंदै भ्रष्टाचारका कारण एनआरएनएमा विवाद आएको र त्यसलाई निर्मुल नगरेसम्म वंशजको नेपाली नागरिकता अभियान अगाडि नबढ्ने बताए ।

गाहामगरले लोकप्रिय प्रशासक नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङसंग आउंदो अगष्ट १५ मा ‘मिट एण्ड ग्रीट’ र सेप्टेम्बर १३ मा ‘एनआरएनए कप’ गर्ने तयारी गरिरहेको पनि जनाए ।

प्रमुख अतिथी एनआरएनए आइसीसी उपाध्यक्ष विश्वासदीप तिगेलाले आइसीसी अध्यक्ष महेश श्रेष्ठले नेतृत्व लिएपछि एक महिना समय अर्को पक्षलाई समेट्न कोशिस गर्दा अर्को समूहले त्यसलाई कमजोरीका रुपमा लिएको बताए । उनले अब बाटो छुटिट्एको बताउंदै अक्टोबरमा हुने भनिएको अन्तर्राष्ट्रिय महाधिवेशन नहुने दावी गरे ।

गत २१ चैत २०८० मा सर्वोच्चको परमादेशपछि उच्च स्तरिय कमिटीका संयोजक डा. शेष घलेले वैशाख २०, २१ र २२ (मे ३ देखि ५) मा काठमाडौंमा एकता महाधिवेशन सम्पन्न गरिसकेको अवस्थामा फेरि अधिवेशन भन्नु भ्रामक र दुःखदायी भएको बताए ।