नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त आवद्ध


काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड आवद्ध भएको छ।

उक्त लघुवित्तमा कार्यरत करिब ६ सय जना कर्मचारी सो योजनामा आवद्ध हुने सम्बन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादबले हस्ताक्षर गर्नु भएको हो।

कोषको यस योजनामा संगठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारीहरू सहभागी हुन सक्ने व्यवस्था रहेको छ।

यसअन्तर्गत योगदानमा वा गैर योगदानमा आधारित भएर संघ–संस्थाले उपदान कोष व्यवस्थापन गर्न सक्नेछन्।

सोही व्यवस्था अनुसार ‘घ’ वर्गको राष्ट्रिय स्तरको उक्त लघुवित्त कोषको उपदान योजनामा आवद्ध भएको हो।

लघुवित्तले हाल देशभर १८५ शाखामार्फत ७४ जिल्लामा २ लाख ४१ हजार घर परिवारमा लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।