राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको प्रथम वार्षिक साधारणसभा सम्पन्न, दीर्घकालीन कृषि रुपान्तरणको प्रतिबद्धता


काठमाडौं । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको प्रथम वार्षिक साधारणसभा गत शुक्रबार काठमाडौंको तीनकुनेस्थित मण्डला बैंक्वेटमा सम्पन्न भएको छ।

कम्पनीको वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्तिसमेत सभाले गरेको छ।

कम्पनी २०८१ बैशाख २७ गते विशाल हुमागाईंसहित २६ जना संस्थापकद्वारा स्थापना गरिएको थियो भने २०८१ असार ३१ गतेदेखि औपचारिक कारोबार सुरु भएको हो। हाल कम्पनीको चुक्ता पूँजी ४८ करोड रुपैयाँ पुगेको छ र करिब २२०० जना शेयरधनीहरू आबद्ध भइसकेका छन्।

सभामा संस्थापक समूह ‘क’ अन्तर्गत विशाल हुमागाईं, सुदिप सापकोटा र मैया दुलाल सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन्। सभाले कम्पनीद्वारा सार्वजनिक सूचनामार्फत प्रस्तुत विशेष प्रस्तावहरू पनि बहुमतले पारित गरेको छ।

सभामा अध्यक्ष हुमागाईंले कम्पनीले छोटो समयमै उल्लेखनीय उपलब्धिहरू हासिल गरेको जानकारी दिँदै लालबन्दी र निजगढमा कम्पोस्ट मल र डल्लो च्याउ उत्पादनको तयारी अन्तिम चरणमा पुगेको बताए। साथै, श्रावणदेखि सञ्चालनमा ल्याइने “सुपरमार्ट नेपाल डट कम” नामक भर्चुअल कृषि बजार प्लेटफर्मको निर्माण पनि अन्तिम चरणमा रहेको जानकारी दिए।

कम्पनीले १५ करोड रुपैयाँको ट्रेजरी व्यवस्थापनमार्फत हालसम्म १ करोड ५ लाख रुपैयाँभन्दा बढी प्रतिफल आर्जन गर्न सफल भएको पनि सभामा जानकारी दिइयो। त्यस्तै, श्रीलंकाको प्रतिष्ठित सीआईसी अग्रीकल्चर प्रालीसँग सहकार्य सम्झौता सम्पन्न भएसँगै कम्पनीले प्रविधि, ज्ञान र अन्तर्राष्ट्रिय बजार पहुँचमा उल्लेखनीय प्रगति गर्ने अपेक्षा गरिएको छ।

कम्पनीले हाल जनकपुरमा प्रदेशीय कार्यालय, लालबन्दीमा परियोजना कार्यालय, तथा वीरगञ्ज र हेटौंडामा सम्पर्क कार्यालय स्थापना गरिसकेको छ। अध्यक्ष हुमागाईंले कम्पनीलाई राष्ट्र, कृषक र उपभोक्ताबीचको समन्वयकारी विकास अभियानको रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गर्दै पारदर्शिता, जवाफदेहीता र दीर्घकालीन रणनीतिमा आधारित कार्यशैलीले कम्पनीलाई नेपालकै अग्रणी कृषि कम्पनीको रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे।