नेपालमा २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि


काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले नेपालमा २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्यांक सार्वजनिक गरेको छ। सोमबार कार्यालयले सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण (चौथो २०७८/८०) अनुसार कुल जनसंख्याको २०.२७ प्रतिशत नेपाली अझै गरिब रहेको देखाएको हो ।

सर्वेक्षणले शहरमा ७ प्रतिशत र गाउँमा ४० प्रतिशत नेपाली गरिबीको रेखामुनि रहेको तथ्य सार्वजनिक गरेको हो। सर्वेक्षणले शहरमा वार्षिक २ लाख ६३ हजार र गाउँमा वार्षिक ७१ हजार खर्च गर्न नसक्ने नेपालीलाई गरिब भनेको छ।

अघिल्लो सर्वेक्षण २०६६/६७ मा २५.२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि थियो । अहिले गरिबीको रेखा मुनि रहेका नागरिकको संख्या करिब ५ प्रतिशतले घटेको हो। सर्वेक्षण अनुसार गरिबीको रेखामुनिको जनसंख्या गाउँमा २४.६६ प्रतिशत र सहरमा १८.३४ प्रतिशत रहेको छ।

सबैभन्दा धेरै गरिबी सुदूरपश्चिम र कम गरिबी गण्डकी प्रदेशमा रहेको सर्वेक्षणमा उल्लेख छ। सुदूरपश्चिम प्रदेशमा गरिबीको दर ३४.१६ प्रतिशत छ। सुदूरपश्चिमपछि कर्णाली प्रदेश दोस्रो नम्बरमा छ। कर्णालीमा २६.६९ प्रतिशत जनसंख्या गरिबीको रेखा मुनि छन्।

सबैभन्दा कम गरिब जनसंख्या गण्डकी प्रदेशमा छन्। गण्डकीमा ११.८८ प्रतिशत मानिस गरिब रहेको तथ्यांकले देखाएको छ । लुम्बिनीमा २४.३५ प्रतिशत, मधेश प्रदेशमा २२.५३ प्रतिशत, कोशी प्रदेशमा १७.१९ प्रतिशत र बागमती प्रदेशमा १२.५९ प्रतिशत गरिबीको दर छ ।

अघिल्लो मापदण्ड अनुसार गणना गरेको भए गरिबी ३.५७ प्रतिशतमा झर्थ्यो । मापदण्डमा परिमार्जन गरिएको र नयाँ मापदण्डले २०.२७ प्रतिशत गरिबी देखिएको राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथा प्रवत्ता डा. हेमराज रेग्मीले बताए ।