एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि ४२ प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि जेठ १६ गते बुक क्लोज गरेकाले जेठ १४ गतेसम्म नेप्सेमा कारोबार गरी कायम रहेका सेयरधनीहरुले मात्र यो हकप्रदमा आवेदन दिन सक्नेछन्।
कम्पनीले हालको चुक्ता पूँजीको १०:४.२ अनुपातमा हकप्रद शेयर ल्याएको हो। अर्थात, १० कित्ता सेयर भएकाले ४.२ कित्ता बराबर नयाँ हकप्रद सेयर खरिद गर्न सक्नेछन्।
रेटिङ्ग
हकप्रद निष्काशनका लागि गरिएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई IRN A- (Single A Minus) Issuer Rating प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको जनाउँछ।
हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपछि यो पूँजी बढेर ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ।
सेयरधनीहरुले मुक्तिनाथ क्यापिटल लिमिटेडमार्फत आवेदन दिन सक्नेछन्।
त्यस्तै, मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा (चिप्लेढुङ्गा), नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर र बुटवल शाखाबाट पनि आवेदन दिन सकिनेछ।
साथै, एशियन लाइफ इन्स्योरेन्सको कार्यालय र ‘मेरो शेयर’ सफ्टवेयरमार्फत C-ASBA प्रणाली प्रयोग गरी आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
आवेदन दिने अन्तिम म्याद साउन १३ गतेसम्म रहनेछ।