सुरक्षित आप्रवासन (SaMi) कार्यक्रम तेस्रो चरणः सिकाइ तथा अनुभव आदान-प्रदान कार्यक्रम सम्पन्न


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा माननीय मन्त्री शरत सिंह भण्डारी र सचिव डा. कृष्णहरि पुष्करको समुपस्थितिमा सुरक्षित आप्रवासन (SaMi) कार्यक्रम तेस्रो चरण (२०७५ भाद्र ३१ – २०८१ मंसिर १० ) कार्यान्वयनबाट प्राप्त सिकाइ तथा अनुभव आदान-प्रदान कार्यक्रम असार १७ गते काठमाडौंमा सम्पन्न भयो।

वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, मर्यादित, व्यवस्थित एवम् उपलब्धिमूलक बनाउने उद्देश्यले नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच द्विपक्षीय सम्झौता भई २०६७ सालमा सुरु भएको यो कार्यक्रम संघ, प्रदेश र स्थानीय सरकारको समन्वय, सहकार्य र साझेदारीमा सञ्चालनमा रहेको छ । नेपाली आप्रवासी कामदार र उनीहरूका परिवारलाई राज्य संयन्त्रबाट संरक्षण गरी सुरक्षित तथा मर्यादित कार्य वातावरणबाट लाभान्वित बनाउने लक्ष्यले सञ्चालित यो कार्यक्रमको गुणस्तरीयता तथा प्रभावकारिता अभिवृद्धिका निम्ति स्वीस सरकार विकास सहयोग एसडीसीको तर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

मन्त्रालयका सहसचिव श्री निश्चलराज पाण्डेले कार्यक्रममा स्वागत मन्तव्यका साथै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभयो।कार्यक्रममा सुरक्षित आप्रवासन (SaMi) कार्यक्रम तेस्रो चरण (२०७५-२०८१) सिकाइ श्रृंखला पुस्तिका तथा सिकाइ समेटिएको भिडियो सार्वजनिक गरिएको थियो । सामीको तेस्रो चरण सिकाइ तथा अनुभवको आधारमा कार्यक्रम अन्तर्गतका सेवाहरूलाई संस्थागत गर्नका लागि नीतिगत विकास र संरचनागत सुदृढिकरणलाई प्राथमिकतामा राख्दै यो कार्यक्रम हाल कार्यान्यवनको चौथो चरणमा प्रवेश गरेको छ ।

“तीनै तहको सरकारहरुको अपनत्वले यो कार्यक्रम सफल भएको छ भन्ने प्रमाणित भएको छ,” कार्यक्रममा बोल्नुहुँदै माननीय मन्त्री शरत सिंह भण्डारीले भन्नुभयो, “सामी सही दिशामा गएको छ, यसले आफ्नो औचित्य पुष्टी गरेको छ” । त्यसैगरी सचिव डा. कृष्णहरि पुष्करले भन्नुभयो, “हामीले यो कार्यक्रमबाट प्राप्त गरेका सिकाइलाई आप्रवासन प्रशासनलाई अझै प्रभावकारी बनाउन प्रयोग गर्नेछौं ।

कार्यक्रमा हेटौंडा उपमहानगरपालिका, इनरुवा नगरपालिका, हरिवन नगरपालिका, शारदा नगरपालिकाका प्रमूखहरुका साथै जानकी गाउँपालिकाका अध्यक्षले सामी कार्यक्रमले स्थानीय स्तरमा नागरिकको तहमा पारेको प्रभावको आधारमा कार्यक्रमलाई अझ प्रभावकारी कर्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
नेपाल स्थित स्वीट्जरल्यान्ड राजदूतावासका प्रतिनिधि एन्टोनिया फ्लुकले तीनै तहका सरकारहरुले सामी कार्यक्रमको अपनत्व लिनुलाई स्वीट्जरल्यान्ड सरकारले सम्मानका साथ हेरेको बताउनुभयो ।

SaMi कार्यक्रम तेस्रो चरणको अवधिमा

  • १,३३९,३७७ व्यक्ति (३,६६,७७१ महिला) ले आप्रवासी स्रोत केन्द्रबाट र समुदाय तहका कार्यक्रममार्फत ७,७१,३४४ (३,०८,९४६ महिला) ले सुरक्षित वैदेशिक रोजगारीबारे सूचना तथा परामर्श प्राप्त गरेका थिए,
  • ३१, ८३५ व्यक्ति (२,७६१ महिला) ले न्यायमा पहुँचका लागि सहयोग र सहजीकरण प्राप्त गरेका थिए,
  • १४,१०६ (१,४३६ पुरुष ) ले मनोसामाजिक परामर्श प्राप्त गरे,
  • ८,७१२ (१,९९१ महिला) ले सीप तालिम प्राप्त गरेका थिए,
  • ६२,९९० (१२५९) रेमिट्यान्स प्राप्त गर्ने घरपरिवार सदस्य स्थानीयस्तरमा सञचालन हुने वित्तीय साक्षरता कक्षामार्फत लाभान्वित भएका थिए ।
  • कोभिड – १९ महामारीको समयमा समेत ३९,३०४ (१३,६६१ महिला) ले यस कार्यक्रम अन्तर्गत मनोसामाजिक परामर्श सेवा प्राप्त गरेका थिए ।

सार्वजनिक गरिएको तेस्रो चरणको समीक्षा र अनुभवका आधारमा तयार पारिएको सिकाइ दस्तावेजहरुले नेपालको वैदेशिक रोजगारी व्यवस्थापनमा SaMi कार्यक्रमले पुऱ्याएका योगदानलाई उजागर गर्नुका साथै भावी रणनीति निर्धारण गर्न मार्गदर्शन प्रदान गरेको छ ।

कार्यक्रममा संघीय सरकारका सम्बन्धित निकाय, प्रदेश मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय र स्थानीय तहका पदाधिकारीहरूको समेत उपस्थिति थियो। सरकारी, गैरसरकारी, तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, तथा सरोकारवाला निकायहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।