
काठमाडौं। संघीय संसद्अन्तर्गत रहेका चारवटा संसदीय समितिका बैठकहरू आज बस्दै छन्।
बैठकहरूमा विभिन्न महत्त्वपूर्ण विधेयक, प्रतिवेदन र न्यायिक सुनुवाइमाथि छलफल हुने कार्यसूची तय भएको छ।
सबैभन्दा पहिला संसदीय सुनुवाइ समितिको संयुक्त बैठक बिहान ८ बजेका लागि बोलाइएको छ।
बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरू र न्याय परिषद्का प्रस्तावित सदस्यहरूको सुनुवाइ गरिनेछ।
त्यसपछि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ८:३० बजे सुरु हुनेछ। उक्त बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि विस्तृत छलफल हुने कार्यसूची छ।
बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्नेछ। बैठकमा नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि दर्ता भएका संशोधन प्रस्तावहरूबारे सांसदहरूसँग विचारविमर्श हुनेछ।
त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजे नै सुरु हुनेछ। उक्त बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची तय भएको छ।
संवैधानिक दायित्वहरू निर्वाह र विधायन प्रक्रियालाई अगाडि बढाउन आजका बैठकहरू महत्त्वपूर्ण हुने संसद् सचिवालयले जनाएको छ।