नेपाल रेडक्रस सोसाइटी आचारसंहिता २०८२ र गोप्य तथा संवेदनशील सूचनादाता संरक्षण नीति २०८२ कोे प्रथम ड्राफ्ट निर्माण सम्बन्धी कार्यशाला सम्पन्न


नेपाल रेडक्रस सोसाइटी लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरण विभागको आयोजना र ब्रिटिश रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी आचारसंहिता २०८२ र गोप्य तथा संवेदनशील सूचनादाता संरक्षण नीति २०८२ कोे प्रथम ड्राफ्ट निर्माण सम्बन्धी ५ दिने कार्यशाला नरेसो राष्ट्रिय तालिम केन्द्र बनेपा, बुडोलमा शुक्रबार सम्पन्न भएको छ।

नेपाल रेडक्रस सोसाइटीले सेवा तथा विकासका कार्यक्रम सञ्चालन गर्दा सोसाइटीको विधान, नीति, नियमावलीहरूको अधिनमा रही पारदर्शिता, जवाफदेहिता र सुशासनलाई संस्थागत मूल्यका रूपमा आत्मसात गर्दै संस्थाको उद्देश्य हासिल गर्न, हित र ख्यातीलाई बढावा दिन, अनुकूलित कार्य वातावरण बनाइराख्न र सेवाको मापदण्ड तथा गुणस्तर कायम राख्न यस कार्यक्रम मार्फत् छलफल सम्पन्न भयो ।

संस्थाको विधान, नीति तथा आचारसंहिताहरूको प्रभावकारी रूपमा कार्यान्वयन गर्न र गराउनका लागि संस्थाले गोप्य तथा संवेदनशील भनि वर्गिकरण गरिएका सूचना दिने सूचना दातालाई संरक्षण गर्न, सूचना दातालाई निर्वाह गरिरहेको भूमिका गुम्न सक्ने, सेवाबाट वञ्चितिकरणमा पर्ने, आर्थिक क्षति, मानसिक दबाब, धम्की, यातना वा सामाजिक आलोचना या दवाव दिने जस्ता जोखिमबाट संरक्षण गरिएको सुनिश्चित गर्नु अपरिहार्य भएकोले यो गोप्य तथा संवेदनशील सूचना दाता संरक्षण नीति २०८२ तर्जुमा गर्न लागिएको हो ।

कार्यशालामा नेरेसो केन्द्रीय कार्यालयका निमित्त कार्यकारी निर्देशक, विभिन्न विभागका निर्देशक, उपनिर्देशकलगायत कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यशालाको अन्तिम दिन प्रथम ड्राफ्ट प्रस्तुत गरिएको थियो। सो अवसरमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयअन्तर्गत विभीन्न विभागका निर्देशकहरू, उपनिर्देशकहरू, विभागीय प्रमुखहरू, रेडक्रसको अन्तराष्टिय महासँघ (आएफआरसी)का हेड अफ डेलिगेसन, आईसीआरसीका नेपाल प्रमुख, अमेरीकन रेडक्रसका कन्ट्री म्यानेजर, ब्रिटिश रेडक्रसका कन्ट्री म्यानेजर, स्विस रेडक्रसका वरिष्ठ अधिकृतलगायतले खुल्ला छलफल गरी सुझाव दिनुभएको थियो ।

खुल्ला छलफलको सहजीकरण र प्राप्त सुझावहरूकोे सारांश प्रस्तुत नेपाल रेडक्रस सोसाइटी लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरण विभागका निर्देशक दिव्यराज पौडेलले गर्नुभएको थियो ।

छलफलबाट प्राप्त सुझावका आधारमा पुनः लेखन गरी आचारसंहिता २०८२ र गोप्य तथा संवेदनशील सूचनादाता संरक्षण नीति २०८२ लाई अन्तिम रूप दिइनेछ।