काठमाडौं। माघ २५ देखि २९ गतेसम्म राजधानीमा २९औं संस्करणको ‘क्यान इन्फोटेक २०२४’ आयोजना हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले क्यान इन्फोटेकको तयारीबारे जानकारी दिएको हो ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले हरेक वर्ष क्यान इन्फोटेक आयोजना गर्दै आएको क्यान महासंघले जनाएको छ ।
२९औँ क्यान इन्फोटेकको मुख्य प्रायोजकमा एस पावर बीपीई प्राइभेट लिमिटेड र सह-प्रायोजकमा एचएमसी दहुआ रहेको छ । प्रायोजनका आधारमा यस बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘’एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुवा (S-power CAN Info-Tech 2024 in association with HMC DAHUA) रहेको छ ।