एभियन इन्फ्लुएन्जा(H5N1) संक्रमण भएको नेपालमै पहिलो पटक


ईकोनोमिक खबर, काठमाडौं ।
नेपालमा पहिलो पटक मानिसमा बर्डफ्लुबाट एक युवकको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै २१ वर्षीय युवकको बर्डफ्लुबाट मृत्यु भएको जानकारी दिएको हो । ती युवकको परिचय गोप्य राखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ज्वरो र रुघाखोकीबाट पीडित भएपछि ती युवक २०७५ चैत १० गते अस्पताल भर्ना भएका थिए । भोलिपल्ट उनको घाँटीको र्याल परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइयो । सोही दिन उनलाई इन्फ्लुयन्जाविरुद्धको औषधिसमेत दिइएको थियो । तर, १५ चैतमा उनको उपचारकै क्रममा मृत्यु भयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणले भाइरसको प्रकार पत्ता लागेन। त्यसपछि विश्व स्वास्थ्य संगठन जापानस्थित प्रयोगशालामा र्यालको नमूना पठाइएको थियो।वैशाख १७ गते प्राप्त नतिजामा इन्फ्लुएन्जा ए एक प्रकारको भाईरस (H5N1) संक्रमण भएको नेपालमै पहिलो पटक पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो इन्फ्लुएन्जा ए (बर्डफ्लु) भाइरस पहिलो पटक १९९६ मा पत्ता लागेको थियो। (H5N1) भाइरसले पंक्षीमा संक्रमण गर्छ र पंक्षि बाट पंक्षिमा सर्नेगर्दछ, कहिले काहीँ पक्षीबाटै मानिसमा समेत सर्छ । विश्व श्वास्थ्य संगठनका अनुसार २००३ देखि हालसम्म विश्वभर ८६० जनामा (H5N1) भाइरसको संक्रमण भएको छ । त्यसमध्ये आधा जत्ति (४५४) मानिसको मृत्यु भएको तथ्यांक छ । तर, अहिलेसम्म (H5N1) भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि भने भएको छैन ।