
ईकोनोमिक खबर, काठमाडौं। साञ्जेन जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओ आज उर्जा मन्त्रालयमा बाँडफाँड भयो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनको उपस्थितीमा शेयर बाँडफाँडको जानकारी गरायोे।
साञ्जेन जलविद्युत बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार साञ्जेन जलविद्युत कम्पनीको शेयरमा १० कित्ताका लागि आवेदन गरेका ५९ हजार ४५५ जना आवेदकलाई माग अनुसार नै शेयर बाँडफाँड गरिएको छ ।
२० देखि २ हजार कित्तासम्म आवेदन गर्ने २ लाख २९ हजार ४४२ आवेदकमध्ये ९१.२३ प्रतिशत अर्थात दुई लाख ९ हजार ३२८ आवेदकले गोलाप्रथाबाट थप १० कित्ता गरि २० कित्ताका दरले शेयर पाएका छन।
८.७७ प्रतिशत अर्थात २० हजार ११४ आवेदकले थप १० कित्ता शेयर प्राप्त गर्न सकेनन्। आईपिओमा आवेदन गरेर विविध कारणले ११ हजार ७०० वटा आवेदनबाट परेको ८ लाख ७३ हजार ५१० कित्ता रद्ध भएको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जानकारी गरायो।
साञ्जेनको आईपिओमा सबै सदर आवेदक २ लाख ८८ हजार ७९७ जना आवेदकलाई १० कित्ताका दरले समानुपातिक रुपमा २८ लाख ८८ हजार ९७० कित्ता शेयर बाँडफाँड गरिएको हो । बाँकी रहेको २० लाख ९३ हजार २८० कित्ता शेयर २० कित्ताभन्दा बढी आवेदन गर्ने २ लाख ९ हजार ३२८ जना लगानीकर्तालाई गोलाप्रथाबाट थप १० कित्ताका दरले वितरण गरिएको हो।
बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार साञ्जेनको आईपिओमा कूल एक करोड ३८ लाख ६९ हजार ७३० कित्ता शेयरको माग भएको थियो । ३ लाख ५९७ आवेदनबाट २।७८ गुणा बढी शेयर माग भएको हो । २ लाख ८८ हजार ८९७ आवेदनबाट परेको एक करोड २९ लाख ९६ हजार २२० कित्ताको आवेदन सदर भएको थियो। सर्वसाधारणहरुबाट ४९ लाख ८२ हजार २५० कित्ता शेयरमा आवेदन माग गरेको थियो।