कुवेतमा मात्रै ६० हजार भन्दा बढी हाउसमेड रहेको


नेपाल सरकारको वैदेशिक रोजगार नीतिअनुसार, घरेलु कामदार (हाउसमेड)को रूपमा नेपाली महिलाहरूलाई कुवेत, साउदी, ओमानजस्ता देशहरूमा पठाउन पूर्णतः प्रतिबन्ध लगाइएको छ।

वैदेशिक रोजगार विभागले घरायसी श्रमलाई उच्च जोखिमयुक्त रोजगारीको रूपमा वर्गीकरण गर्दै २०७४ सालदेखि नै स्पष्ट नीति लागू गरेको हो । तर, यथार्थमा यी नीतिहरू माफिया, दलाल, सेटिङ एजेन्ट र केही भ्रष्ट सरकारी कर्मचारीहरूद्वारा खुलेआम मिचिएको छ। नीतिको नाममा गरिने औपचारिकता र सुरक्षा चेतावनीहरू अभ्यासमा मात्र औपचारिकता बन्न पुगेका छन् ।

कुवेतमा पुगेपछि नेपाली हाउसमेड महिलाहरू प्रत्यक्ष मालिकसम्म तुरुन्तै पुग्दैनन् । कतिपय नेपालीले नै संचालन गरेका कम्पनीहरूले उनीहरूलाई “लाइनमा” राख्छन् – जहाँ रोजगारदाता आइपुग्छन्, महिला हेर्छन्, छनोट गर्छन । स्रोत भन्छ, “महिला हेरेर उनीहरूको मुल्य अर्थात तलब तोकिन्छ।” यो अवस्था स्पष्ट रूपमा महिलामाथिको वस्तुकरण र गरिमामाथिको अपमान हो, जुन अन्तर्राष्ट्रिय मानव अधिकार सम्झौताहरू, खासगरी CEDAW (महिलाविरुद्ध सबै प्रकारका विभेदको अन्त्य सम्बन्धी महासन्धि)को खुला उल्लंघन मानिन्छ

अभिमुखिकरण तालिम नै नलिई सेटिङ गराउने

संस्थागत रुपमा श्रम-स्वीकृति लिएर जानेहरुले समेत सेटिङमा अभिमुखिकरण तालिम नै नलिई सेटिङ गराउने प्रचलन रहेको अवस्थामा सेटिङ गरि जाने महिलाहरुले त झन कुनै अभिमुखीकरण पाउने कुरै भएन ।

सरकारी संयन्त्रले समेत यस्ता गतिबिधि रोक्न प्रयाप्त सूचना तथा जानकारी दिदैंनन् ।

वैदेशिक रोजगार बोर्डबाट यस्तै सचेतनाको लागि छुट्याईएका बजेटहरु समेत बर्षेनी फ्रिज हुन्छन् ।

अझ गम्भीर कुरा त यो हो कि कुवेतस्थित नेपाली दूतावास यी सबै कार्यहरूको जानकारीमा रहे पनि मौन छ ।

गिरोहको राजनीतिक पहुँचले दूतावास मौन सहमति

स्रोतहरूका अनुसार, त्यही गिरोहले राजनीतिक पहुँच प्रयोग गरी दूतावाससम्म प्रभाव विस्तार गरिसकेको छ। जसले गर्दा दूतावास मौन सहमति सहित अप्रत्यक्ष रूपमा यस्ता अवैध कार्यको संरक्षण गर्दै आएको देखिन्छ ।

कुवेतमा घरेलु कामदार व्यवस्थापन गर्ने कम्पनी वैधानिक रहेको भन्दै दुतावासले आलटालको जवाफ दिने गरेको छ तर तिनैको कारण नेपालको नीति ठाडै मिचिएको विषयलाई दुतावासले अनदेखा गरिरहेको छ।

दुतावासमा आउने अधिकांश समस्या घरेलु कामदारको समस्यामै जोडिएका छन् । समस्या लिएर आउनेहरुले दुतावासलाई दैनिक पीडकहरुको जानकारी, आफूलाई अवैध ल्याउनेहरुको जानकारी दुतावासलाई रिपोर्ट गराईरहेका हुन्छन् तर दुतावासले यस सम्बन्धमा कुनै एक्सन लिएको पाइएको छैन। त्यसो त यस्ता व्यवसायीले बोलाएको कार्यक्रममा दुतावासकै उपस्थिति रहने, समर्थन गर्ने जस्ता गतिबिधि लामो समयदेखि चल्दै आएका छन् । कुवेतको गैरआवासिय नेपालीको समितिमा समेत उनीहरुको निरन्तर उपस्थिति रहेको पाइएको छ ।

वैदेशिक रोजगारीलाई कमाइको माध्यम बनाउनेहरू बिभिन्न देशमा बसेर नेपालको नीतिलाई ठाडै कुल्चिएर, महिलाको शरीर र श्रमको सौदाबाजी गर्दैछन्। यो गलत धन्दा मात्र होइन, मानव अधिकारविरुद्ध हो। नेपाल सरकारले यस्ता गिरोहमाथि कडा अनुसन्धान, निगरानी र कारवाही थाल्नुपर्ने तर त्यसो नभईरहेको गुनाशो बढिरहेको छ । जिम्मेवारी लिएका दूतावास, श्रम मन्त्रालय समेतलाई यस सम्बन्धमा चासो र चिन्ता छैन ।

नेपालका एजेण्टहरुबाट त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल, भारतका विभिन्न विमानस्थलहरु, मलेसिया, सिङ्गापुर, थाईल्याण्ड,युएईको विमानस्थलहरु प्रयोग गरेर कुवेत पुगेका महिलाहरुलाई तेहा रहेका हाउसमेड ब्याबसायीले रिसिभ गरि स्थानीयकोमा पठाउने गर्दछन । यश कार्यमा नेपाली दुतावास कुवेतले यि ब्याबसायीलाई साथ दिने गर्दछन । यसबापत दूतावासका सबै निकायलाई आफुहरुले खुशी पार्ने गरेको हाउसमेड ब्याबसायीहरुले भने । उनिहरुले दूतावास नै आफुहरुको ईशारामा चल्ने गरेको दावी समेत गर्न भ्याए। हुनत धेरै सरकारी निकायमा आफ्नो दबदबा राखेका हाउसमेड ब्याबसायीहरुले दूतावासलाई प्रभावमा पार्नु साधारण कुरा नै हो । हाल कुवेतमा मात्रै ६० हजार भन्दा बढी हाउसमेड रहेको र यिनै हाउसमेडका कारण दूतावासमा सधै समस्या गरेको छ ।

दूतावासमा पिडित हाउसमेडहरुलाई राख्ने आवास गृहको अवस्था पनि नाजुक रहेको छ ।

हाउसमेड ब्याबसायी संघ अर्थात मेनपावर ब्याबसायी संघको अध्यक्ष रवि गुरुङको नेतृत्वमा रहेको छ। गुरुङलेमात्रै अहिलेसम्म करिव १० हजार मान्छे कुवेत पुर्याएको हाम्रो भेटमा बताए । यसैगरि अर्का हाउसमेड ब्याबसायी शिव श्रेष्ठले पनि १० हजार हाउसमेड कुवेत पठाईसकेका छन । उनीहरुको नेपाली दूतावासमा दबदबा नै रहेको छ ।