इकोनोमिक खबर, काठमाडौं । आइतबार कारोवार नेप्से परिसूचक केहि घटेर बन्द भएको छ ।
आजको नेप्से परिसूचक शून्य दशलमव ९९ प्रतिशत अर्थात् २१ अंक घटेर २ हजार ८८ दशमलव ०७ विन्दुमा कायम भएको हो । बढेको बजारमा प्रोफिट बुक गर्ने सक्रिय भएसँगै आइतबार बजार घटेको हो । यस दिन बजार बढेर २ हजार १ सय ३२ विन्दुसम्म पुगेको थियो ।
पछिल्लो समय लगानीकर्ता प्रोफिट हुँदा बुक गर्ने गरेका छन् । सोही बेला नयाँ प्रवेश गर्न चाहनेहरू पनि उत्तिकै हुन्छन् । यसले गर्दा पनि बजारमा क्रेता र विक्रेताबिच प्रतिस्पर्धा भईरहन्छ । आइतबार पनि अन्तिम प्रहरमा विक्रेता पक्ष बढी हावी भएका छन् ।
पछिल्लो समय ब्याजदर घट्दो छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत शेयर बजारका लागि तुलनात्मकरूपमा केही लचिलो नीति लिएको छ । यस्तै नयाँ ब्रोकरहरू थपिएका छन् । उनीहरूले विस्तारै नयाँ ग्राहक पनि खोज्न थालेका छन् । यसबाट नयाँ लगानीकर्ता थपिन थालेका छन् । यसो त लामो समयदेखि घटेको बजारमा सूचीकृत कम्पनीहरूको शेयर मूल्य निकै तल्लो विन्दुमा रहेकाले पनि खरीदकर्ता आकर्षित हुने अनुमान लगाउन सकिन्छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स १ दशलमव ३३ प्रतिशत, फ्लोट इन्डेक्स १ दशलमव ०९ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ६८ प्रतिशत घटेको छ ।
३०९ धितोपत्रको १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता शेयर १ लाख २८ हजार ३५६ पटकमा रू। ७ अर्ब ११ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये पाँच धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । यस दिन बोटलर्स नेपाल बालाजु, कालिका पावर, सामलिङ्ग पावर, बिपि डब्लु लघुवित्त वित्तीय संस्था र चिरख्वा हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ ।
आइतवार ज्योति विकास बैंकको जेबिबिएल डि ८७ नामक ऋणपत्रको मूल्य १० प्रतिशत घटेको छ । ऋणपत्र मूल्य प्रतिकित्ता रू। ९ सयमा झरेको छ । त्यस्तै नेपाल रिपब्लिक मिडियाको शेयर मूल्य पनि १० प्रतिशत घटेर रू। ४२० दशमलव ४० कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । यस कम्पनीको रू। ३० करोड ४३ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू। ५७० कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा हाथवे इन्भेष्टमेन्ट नेपालको रू। २९ करोड ५० लाख बराबरको भएको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी सबैको घटेको छ । अन्य समूहको परिसूचक सर्वाधिक शून्य दशमलव ९७ प्रतिशतले बढेको छ भने लगानी समूहको परिसूचक सर्वाधिक ३ दशलमव ८९ प्रतिशतले घटेको छ ।