
काठमाडौं। नेपालकै भजन इतिहासमा पहिलोपटक उच्च सरकारी अधिकृतको स्वरमा तयार गरिएको धार्मिक भजन ‘जय श्रीराम’ शुक्रबार पोखरास्थित गण्डकी कोटिहोममा एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ।
भजनको सार्वजनिक समारोहमा बालयोगेश्वर विजय कृष्णमुर्ति महाराजको पवित्र हस्तबाट विमोचन गरिएको हो।
टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीको भावनात्मक स्वरमा रेकर्ड गरिएको यस भजनले सरकारी प्रशासन, धर्म र सांगीतिक सिर्जनाबीचको दुर्लभ समन्वय प्रस्तुत गरेको छ।
निर्माताका अनुसार, यो भजन नेपाली भजन इतिहासमै सबैभन्दा धेरै लगानीमा निर्माण गरिएको भिडियो हो।
यसको उद्देश्य युवापुस्तालाई अध्यात्मतर्फ आकर्षित गर्नु, धार्मिक चेतना फैलाउनु, र नेपाली धार्मिक संगीतमा ऐतिहासिक छाप छोड्नु रहेको बताइएको छ ।
दिउँसो १:१५ बजे “बिष्णुमाया पौडेल युट्युब च्यानल” मार्फत सार्वजनिक गरिएको यस भिडियोले संगीत, अध्यात्म र सामाजिक भावनालाई एउटै धारमा जोडेको छ।
भजनको शब्द, संगीत र निर्देशन रेड मिडियाका कार्यकारी सम्पादक आरबी केसीले गरेका हुन्।
गायनमा बिसीसँगै रेड मिडियाकी प्रधान सम्पादक बिष्णुमाया पौडेल, कोरसमा आरबी केसी र हेमन्त भट्टराईको सहभागिता रहेको छ।
कार्यक्रममा अन्तर्राष्ट्रिय श्रीमद्भागवत वाचिका देवी प्रतिभाको कथा वाचन, उपस्थित आशिर्वाद दृश्यसमेत भिडियोमै समावेश गरिएको छ।
प्रशासकको स्वरमार्फत भक्ति प्रस्तुत हुनुले सरकार, धर्म र जनभावनाबीचको दूरी घटाउने र सेवाप्रतिको समर्पणलाई संगीतमार्फत अभिव्यक्त गर्ने एक नवीन अभ्यासको सुरुवात भएको सन्देश दिएको छ।