इकोनोमिक खबर, काठमाडौं । साताको तेस्रो दिनको सेयर बजार झण्डै सात अंकले ओरालो लागेको छ । मङगलबार बजार खुलेदेखि नै निरन्तर सुधारतर्फ लागेको बजार अनलाइन प्रणालीमा समस्या आएलगत्तै ओरालो लाग्न थालेको हो । अनलाइन कारोबार प्रणालीमा आएको समस्याले गर्दा अधिकांश लगानीकर्ताले समयमा नै शेयर खरिदबिक्री गर्न नपाएपछि यसको असर मंगलबारको बजारमा देखिएको हो ।
नेपाल स्टक एक्चेन्ज (नेप्से) मा मङ्गलबारको सेयर बजार ६.८३ अङ्कले ओरालो लागेर ११४७.१५ अङ्कमा पुगेर अडिएको छ । त्यसैगरी, क वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.५७ अङ्कले ओरालो लागेर २४३.९७ अङ्कमा रोकिएको छ । समग्रमा तेस्रो दिनको नेप्से ०.५९ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ०.६४ प्रतिशतले झरेको छ ।
निरन्तर सुधारको क्रममा रहेको सेयर बजारले साताको दोस्रो दिन पनि ओरालो लागेको थियो । नेपाल स्टक एक्चेन्ज (नेप्से) मा सोमबारको सेयर बजार ७.४७ अङ्कले ओरालो लागेर ११५३.९८ अङ्कमा पुगेर अडिएको थियो ।
त्यसैगरी, क वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.६२ अङ्कले ओरालो लागेर २४५.५४ अङ्कमा रोकिएको थियो । समग्रमा दोस्रो दिनको नेप्से ०.६४ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ०.६६ प्रतिशतले झरेको थियो ।
तेस्रो दिन १५८ कम्पनीका पाँच लाख ३४ हजार ९९५ कित्ता शेयरहरु दुई हजार ५९२ वटा कारोबारबाट १४ करोड ८६ लाख ३३ हजार २४५ रुपियाँ बराबरको सेयर खरिदबिक्री भएको छ । जुन अघिल्लो दिनको तुलनामा २२ करोडले कमी हो ।
सोमबार १६९ कम्पनीको १३ लाख ९३ हजार कित्ता शेयर चार हजार ८१९ पटक खरिद बिक्री हुँदा ३६ करोड सात लाख रुपियाँ बराबरको कारोबार भएको थियो ।
मङ्गलबार कारोबारमा आएका सबै उपसमुह ओरालो लागेका छन् । सोमबार कुल १० वटा समूहको सेयर कारोबार भएकोमा दुई वटा समूहको सूचक बाहेक सबै ओरालो लागेका थिए । सबैभन्दा धेरै जीवन बीमा समूह ७६.५३ अंकले ओरालो लागेको थियो भने वाणिज्य बैङ्कसमूहको सूचक ६.३७ अंकले ओरालो लागेको थियो । वित्त ४.३८, उत्पादन उपसमूह ७.६६, बैंकिङ ६.३७, होटल ७.१४, विकास बैङ्क६.१९, जलविद्युत् १४.३९, निर्जीवन बीमा ६०.४६, अन्य ०.६४, लघुवित्त १०.६८ र जीवन बीमा ७६.५३ विन्दुले ओरालो लागेको थियो ।
कारोबार रकमका आधारमा नागरिक लगानी कोष अगाडि छ । कोषको दुई करोड ३५ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः गुराँंस लाइफ इन्सुरेन्स र ग्लोबल आइएमईको संस्थापक सेयर परेका छन् ।