May 3, 2025

एनएमबि बैंकका सीईओ पदमा गोविन्द घिमिरे नियुक्त


काठमाडौं, एनएमबि बैंकको प्रमुखकार्यकारी अधिकृत (सीईओ) को कार्यभार आज मिति बैशाख १० गतेबाट गोविन्द घिमिरेले औपचारिक रूपमा सम्हाल्नु भएको छ। तीनदशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गर्नुभएका घिमिरे विगत १६बर्ष देखि यस एनएमबि बैंकसँग आबद्ध हुनुहुन्छ। बैंकको विभिन्न विभाग तथा शाखाहरु समेतको नेतृत्व गर्नु भई कार्य अनुभव हासिल गर्नु भएका गोविन्द घिमिरे यस अघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । उहाँले बैंकको सेवाविस्तार र सुधारमा महत्वपूर्ण योगदान दिई आउनु भएको छ।

उहाँको योगदानहरू बैंकको व्यापार,वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजनानिर्माण र सञ्चालन सुधारका कार्यहरूमा विशेष रूपले महत्वपूर्ण रहँदै आएका छन्। उहाँले एनएमबि बैंकको सञ्चालन प्रणालीमा सुधार ल्याउन, प्रविधिमा आधारित सेवा विस्तार गर्न र दिगो बैंकिङ अभ्यासहरूलाई अघि बढाउन निरन्तर सक्रिय भूमिका निभाउनु भएको छ। उहाँको बैंकिङ अनुभवले एनएमबि बैंकलाई थपप्रगति र समृद्धिको मार्गमा अघि बढाउने विश्वास बैंकले लिएको छ।
नवनियूक्त कार्यकारी अधिकृत गोविन्द घिमिरेले प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै बैंक संचालक समिति तथा ब्यवस्थापन समक्ष आगामी योजना तथा बैंकको प्रगतिका लागि देहाय बमोजिमको धारणा व्यक्त गर्नुभएको छ।

“मेरो प्राथमिकता नवप्रवर्तन, दिगो साझेदारी र समावेशी वित्तीय सेवामा केन्द्रित हुनेछ, जसले बैंकलाई अझप्रभावशाली र अर्थपूर्ण बनाउनेछ। डिजिटल प्रविधि र नयाँ सोचको समावेशसँगै हामी ग्राहक, समुदाय र राष्ट्रसँग मिलेर दिगो र सकारात्मक परिवर्तन ल्याउने दिशामा अघि बढ्नेछौं।”

साथै, आजैका मिति बाट लागु हुने गरी बैंकका हालका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्नु भएको छ । स्वदेशी तथा विदेशी बैंकहरुमा कार्य गरि कार्य अनुभव प्राप्त गर्नु भएका सुदेश उपाध्याय अन्तराष्ट्रिय व्यापार तथा अन्तराष्ट्रिय सम्बन्धका साथै बैंकिङ्ग ब्यवसाय गहिरो ज्ञान भएका बैंकर मानिन्छ ।

उहाँहरुको नियुक्ति सँगै एनएमबि बैंकले अनुभव र निरन्तरतामा आधारित नयाँ नेतृत्वको स्वागतगर्दै ‘समृद्ध नेपाल’को उद्देश्यतर्फ कदमअगाडी बढाएकोे छ।