
खाद्यका लागि कृषि अभियानले जैविक जागरण यात्रा सुरु गरेको छ।
वैशाख ९ गते काभ्रेपलाञ्चोकबाट सुरु भएको यात्रा एक महिना सम्म चल्नेछ।
यात्राको उद्देश्य, जैविक खेतीको प्रवर्द्धनका लागि प्रत्यक्ष र परोक्ष सरोकार राख्ने व्यक्ति, समूह र निकायहरूसँग छलफल एवम् सुझावहरू संकलन गर्ने रहेको छ।
यात्राको पहिलो दिन काभ्रेपलाञ्चोकस्थित कृषि विकास कार्यालय, हसेरा पर्माकल्चर फार्म र नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र किसान प्रतिनिधिहरूसँग छलफल भयो।
छलफलमा कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख कुल प्रसाद दवाडीले रासायनिक मल र विषादीको प्रयोग घटाउनुपर्नेमा जोड दिँदै उर्वर कृषि योग्य जमिन बचाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।
नमोबुद्ध नगरपालिका भकुण्डेबेसीका अगुवा किसानहरूले बीउबीजनमा परनिर्भरता बढेको, रैथाने बीउबीजन लोप भएको, स्थानीय क्षेत्रमा बीउ उत्पादन गर्ने प्रक्रिया महँगो र झन्झटिलो भएको, वन्यजन्तुले खेतीपाती नष्ट गरेको, जैविक उत्पादनले बजार नपाएको, दूधको भुक्तानी समयमा नपाएको जस्ता समस्याहरू उठान गर्नुभएको थियो।
पर्माकल्चर प्रवर्तक गोविन्द शर्माले जैविक कृषि जागरण यात्राको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।