
काठमाडौं। नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई सञ्चालकहरुले राजिनामा दिएको एक वर्षसम्म पनि सेयर बेच्न नािउने व्यवस्था हटाउन आग्रह गरेको छ।
संघका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको पदाधिकारी टोलीले प्राधिकरणका अध्यक्ष ओझालाई निर्जीवन बीमा व्यवसायमा देखिएको नीतिगत कठिनाईबारे ध्यानाकर्षण गराउँदै यस्तो आग्रह गरेको हो।
संचालकहरुको स्वामित्वमा भएको सेयर कम्पनीमा राजिनामा पछि पनि १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति संघले प्राधिकरणको ध्यानाकर्षण गराएको हो । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क) अनुसार संगठित संचालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकास पाएको एक बर्षसम्म सम्बन्धित कम्पनीको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक रहेको संघको भनाई छ।
निर्जीवन बीमा व्यवसायीसंघले प्राधिकरणका अध्यक्षलाई बुझाएको ज्ञापनमा भनिएको छ, “सेयर विक्रीसम्वन्धी व्यवस्था अत्यन्तै अव्यवहारिक रहेको जानकारी गराउँदछौं । कम्पनीमा कायम रहेका सवै सेयरधनी जस्तै संचालकहरु पनि लगानीकर्ता नै रहेको र सेयरधनीहरुको साधारणसभाबाट निर्वाचित भई उनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधत्व गरेकै आधारमा शेयर विक्री गर्न नपाउने व्यवस्था न्यायोचित नभएको जानकारी गराउँदछौ, ।” संघका अध्यक्ष सहितको पदाधिकारी टोलीले बीमा प्राधिकरणका अध्यक्ष ओझालाई सो प्रावधान सच्याउनका लागि आग्रह समेत गरेको छ।