Apr 11, 2025

वायु प्रदुषण कम गर्न हप्तामा दुई दिन सार्वजनिक विदा दिन विज्ञको सुझाव


विज्ञहरुले वायु प्रदुषण कम गर्न हप्तामा दुई दिन सार्वजनिक विदा दिन सुझाएका छन्।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले वायु प्रदूषणले खतराको तह पार गरेपछि सरकारले प्रदूषण कम गर्न विज्ञसँग छलफल गरेका थिए।

छलफलको क्रममा विज्ञहरुले सातामा दुई दिन सार्वजनिक विदा दिन र सवारी साधनमा जोर बिजोर प्रणाली लागु गर्न सुझाव दिएका छन्।

यस्तै सडक र अन्य आयोजना निर्माण गर्दा पनि अनिवार्य रूपमा प्रदूषण सम्बन्धी शुल्क तिर्ने व्यवस्था गरिनुपर्ने समेत विज्ञहरूले सुझाव दिएका छन्।

छलफलपछि कार्यबाहक प्रधानमन्त्री सिंहले काठमाडौँ उपत्यकाको वायु प्रदुषण रोक्न सरकारले यथाशक्य छिटो निर्णय गर्ने बताए।

उनले विज्ञहरुको सुझावका आधारमा अन्य सरोकारवाला निकायहरुसँग समेत छलफल गरेर अघि बढ्ने बताए।

उद्योगधन्दा र कलकारखानाहरुको माध्यमबाट भइरहेको वायु प्रदुषण रोक्न आवश्यक पहल गर्ने सिंहको भनाइ छ।

उनले भने, ‘चाँडै अन्य सम्बन्धित निकायहरुसँग समेत छलफल गरेर तत्काल गर्नुपर्ने कामहरु सरकारले गर्छ। विज्ञको सुझावका आधारमा वायु प्रदूषण कम गर्न तत्काल निर्णय गर्छौं।’