Apr 1, 2025

ओम मेगाश्री फर्मासुटिकल्सको आईपीओ बाँडफाँड,


ओम मेगाश्री फर्मासुटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज चैत्र १२ गते मंगलबार बिहान शेयर बाँडफाँड गरेको हो ।

कम्पनीले फागुन २७ गतेदेखि चैत्र ३ गतेसम्म आम सर्वसाधारणलाई १४ लाख ७६ हजार कित्ता शेयर निष्काशन गरेको थियो ।

क्यापिटलका अनुसार यस आईपीओमा २० लाख ५६ हजार ५ सय ७६ जनाले २ करोड ४५ लाख २९ हजार ५ सय ९० कित्ताको लागि आवेदन दिएका थिए ।

जस मध्ये १८ लाख ४८ हजार २ सय ९८ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ।

माग भन्दा बढीको आवेदन परेकोले  कम्पनीको आईपीओ गोलाप्रथा मार्फत बाँडफाँड गरिएको छ। जसमा १ लाख ४७ हजार ६ सय जनाले मात्र १० कित्ताको दरले शेयर पाउने छन्  ।

बाँकि आवेदक भने हात खाली भएका छन् । आईपीओ नतिजा केही समयपछि सार्वजनिक हुने छ।

कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफांड गरिसकेको छ।

नेपाल धितोपत्र बोर्डले माघ ३ गते कम्पनीलाई आईपीओ निष्काशन गर्ने अनुमति दिएको थियो ।

यो ओम मेगाश्री औषधि उत्पादन गर्ने कम्पनी हो ।

यस कम्पनीमा गैरआवासीय नेपाली समेतको लगानी छ।

झण्डै सवा अर्ब लगानीमा सुरु भएको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको उत्पादन कारखाना चितवनको जुगेडीमा रहेको छ।

कम्पनीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ हुन्।