
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले विश्व क्षयरोग दिवस २०२५ “हो ! हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता।” (“Yes! We Can End TB: Commit, Invest, Deliver”) भन्ने मूल नाराका साथ २४ मार्च, २०२५ का दिन भव्यताका साथमा मनाउन गईरहेको घोषणा गर्दछ।
यस दिवसले हामीलाई क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धताहरु, प्रयासहरु, तथा उपलब्धीहरु लाई सम्झिने अवसर दिने गर्दछ। साथै यस रोगका कारण नेपालमा हजारौं मानिसहरु प्रभावित भईरहेका छन् भन्ने वास्तविकतालाई उजागर गर्दछ।
त्यसैगरी विश्वव्यापी रुपमा क्षयरोग अन्त्यका लागि गरिएका साझा तथा सामूहिक संकल्पमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र कटिबद्ध रहेको जानकारी पनि गर्दछ।
यस वर्षको नारा लाई विस्तृत रूपमा व्याख्या गर्ने हो भने नाराले हाम्रो कर्तव्य र कार्यलाई व्यापक रूपमा अगाडि बढाउनु पर्ने आवश्यकता उजागर गर्छ ।
प्रतिबद्धता गर्नुहोस् सन् २०२३ को संयुक्त राष्ट्रसंघ उच्चस्तरीय बैठकमा विश्व नेताहरूले क्षयरोग (TB) अन्त्य गर्न प्रयास तीव्र पार्ने प्रतिज्ञा गरे।
अब, हामीलाई वास्तविक कार्य आवश्यक छ: डब्ल्यूएचओको मार्गदर्शन र नीतिहरूको द्रुत कार्यान्वयन, सशक्त राष्ट्रिय रणनीतिहरू, र पूर्ण वित्तीय सहयोग लगानी गर्नुहोस्,
क्षयरोग (TB) उचित वित्तीय सहयोग बिना पराजित हुन सक्दैन। नवीनतम प्रयोगलाई वित्तीय सहयोग प्रदान गर्न, क्षयरोग रोकथाम, उपचार, र हेरचाहको पहुँचमा वृद्धि गर्न, साथै अनुसन्धान र नवीनतम प्रयोगलाई अगाडि बढाउन हामीलाई साहसी र विविध रणनीति आवश्यक छ।
प्रतिबद्धतालाई कार्यान्वयनमा परिणत गर्नु भनेको डब्ल्यूएचओद्धारा सिफारिस गरिएको कार्यक्रम/क्रियाकलापहरु विस्तार गर्नु हो: समयमै रोग पहिचान गर्नु, निदान गर्नु, रोकथाम तथा उच्च-गुणस्तरिय क्षयरोग उपचार सेवा प्रदान गर्नु विशेष गरी औषधी-प्रतिरोधी TB का लागि समुदायको नेतृत्व, नागरिक समाजको सक्रियता, र विभिन्न क्षेत्रहरूबीचको सहकार्यमा सफलता निर्भर गर्दछ ।
नेपालमा क्षयरोग अझै पनि एक प्रमुख जनस्वास्थ्य चुनौतीका रूपमा विद्यमान छ, जसको न्यूनीकरणका लागि नेपाल सरकारले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्दै निःशुल्क उपचार, प्रभावकारी औषधि वितरण, तथा नवीनतम प्रविधिहरूको प्रयोग गर्दै आइरहेको छ। तथापि, उपचार सेवाको पहुँच अभिवृद्धि, आर्थिक स्रोतको अभाव हटाउने, तथा समुदाय स्तरमा जनचेतना वृद्धि गर्ने कार्य अझै आवश्यक छ। नेपाल सरकारले “क्षयरोग मुक्त नेपाल अभियान” तथा अन्य प्रभावकारी रणनीतिहरू अघि बढाइरहेको छ, जसबाट आगामी दिनमा क्षयरोग निवारणमा थप सफलता हासिल हुने अपेक्षा गरिएको छ। यस अभियानलाई प्रभावकारी बनाउन सरकार, निजी क्षेत्र, अन्तर्राष्ट्रिय निकायहरू, तथा समुदायबीच समन्वय आवश्यक छ। नेपालबाट क्षयरोगलाई सधैंका लागि अन्त्य गर्नको लागि हाल भइरहेका नीतिगत कानूनी संस्थागत प्रकृयागत जनशक्ति लगायतका क्षेत्रमा थप सुधार गरी क्षयरोगका बिरामीलाई सहजरुपमा सेवाको पहुँच पुग्ने वातावरण निर्माण गर्नु पर्ने छ । यसका लागि भक्तपुरको ठिमीमा निर्माण भएको केन्द्रीय छातीरोग अस्पताललाई संचालनमा ल्याएर उपचारमा सहजता दिलाउँन सकिन्छ । स्थानीय सरकार र प्रदेश सरकारको सहयोग र समन्वयमा हरेक पालिकामा र ७७ वटै जिल्लामा क्षयरोगका लागि दक्ष कर्मचारीको व्यवस्था अनिवार्य रहेको छ । औषधी प्रतिरोधी क्षयरोगका बिरामीलाई उपचारमा सहजता प्रदान गर्न हरेक जिल्लाउपतार केन्द्रको अनिवार्य आवश्यकता छ । हालसम्म पनि सरकारी अस्पतालहरुमा क्षयरोगका बिरामीको सहज उपचारको व्यवस्था भएको पाइदैन । यसले गर्दा क्षयरोग लागेका मानिसहरुमा नैरस्यता आउँनुका साथै अपहेलनाको महसुस भएको अनुमान गर्न सकिन्छ । यसको अन्त्यका लागि सबै सरकारी निजी र सामुदायिक अस्पतालमा सबै प्रकारका क्षयरोगका बिरामी उपचारकोसुनिश्चितता गर्नु अहिलेको अनिवार्य आवश्यकता हो । हाल १४९ पालिकाहरुमा संचालनमा रहेको क्षयरोग मुक्त नेपाल अभियान कार्यक्रमलाई बाँकी ६०३ वटा पालिकामा पनि विस्तार गरी ७३५ वटै स्थानीय तहमा संचालन गरी समुदायमा भएका क्षयरोगका बिरामीको पहिचान गरी उनीहरुलाई उपचारको दायरामा ल्याउँने र समुदायमा क्षयरोग फैलिन नदिने गरी कार्यक्रम संचालनमा ल्याउँनु पर्ने छ । यसो गर्न सकेमा पाँच वर्षभित्रैमा नेपालबाट क्षयरोगलाई विदा गर्न सकिनेछ । विश्व क्षयरोग दिवसले हामीलाई क्षयरोग निवारणको अभियानलाई थप मजबुत बनाउने प्रेरणा दिन्छ। हरेक नागरिक, स्वास्थ्यकर्मी, तथा नीति निर्माताले यस रोग विरुद्धको लडाइँमा योगदान दिएर नेपाललाई क्षयरोगमुक्त बनाउने लक्ष्य हासिल गर्न सक्दछौं। संयुक्त प्रयास, प्रतिबद्धता, तथा नवीनतम प्रविधिको प्रयोगमार्फत मात्र हामी क्षयरोगको अन्त्य गर्दै एक स्वस्थ नेपाल निर्माण गर्न सक्नेछौं ।
थप पढनुहोस: https://www.healthaawaj.com/news/62424/