
नेपालको क्षेत्रफलले सबैभन्दा ठुलो जिल्ला डोल्पा जति ठुलो छ त्यति नै प्राकृतिक, जैविक विविधता, सांस्कृतिक र धार्मिक सम्पदाले पनि विशाल छ ।
रोचक तथ्य के छ भने यस जिल्लाको जनघनत्व अन्य जिल्लाभन्दा कमै छ तर हिउँ चितुवाको घनत्व चाहिँ नेपालकै सबैभन्दा बढी छ । डोल्पा जिल्लाको समृद्धिको आधार रहेका विभिन्न क्षेत्रलाई यहाँ उल्लेख गरिएको छ।
पर्यटन
विशिष्टिकृत पर्यटकीय आर्कषणका कारण यो जिल्ला पर्यटकको प्रमुख गन्तव्य हो । तथापि पर्यटकीय सम्भावनाको सरोवर हुँदा पनि स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ लिन सकेका छैनन् । सार्वजनिक निजी साझेदारीमार्फत स्थानीय बासिन्दा र ट्रेकिङ व्यवसायी दुवैलाई फाइदा हुने उद्देश्यले स्थापित जिल्ला स्तरीय पर्यटन समन्वय समितिसँगको समन्वय र सहकार्यले पर्यटकीय वस्तु र सेवाको प्रचारप्रसार र उपलब्धता सुनिश्चित गरी डोल्पामा पर्यटकको सङ्ख्या वृद्धि गर्न सकिन्छ । से–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा सरकारी जग्गामा स्थापित होटल÷चिया पसल सञ्चालनसम्बन्धी छुट्टै कार्यविधि बनाउन सके निकुञ्ज, व्यवसायी र पर्यटकलाई धेरै सहज पुग्ने छ ।
त्यस्तै माथिल्लो डोल्पा अझै प्रतिबन्धित क्षेत्रमा पर्छ । त्यस कारण विदेशी पर्यटकले महँगो ट्रेकिङ शुल्क तिर्नु पर्छ । यस प्रकारको शुल्कका कारण पनि विदेशी भ्रमणदर बढेको छैन । तसर्थ उक्त प्रतिबन्ध हाल के कतिको सान्दर्भिक छ भन्ने विषयमा छलफल र अध्ययन हुन जरुरी छ । ट्रेकिङ शुल्क केन्द्रले उठाउने र त्यही अनुसार शुल्क जिल्लाको पर्यटनको विकासका लागि योगदानको अनुपातमा जिल्ला पठाइने व्यवस्था गर्न न्यायोचित देखिन्छ । हिउँचितुवा, रेड पान्डामा आधारित पर्यटन, धार्मिक पर्यटन, हर्बल उपचार सेवा, स्थानीयवासीको सिजनल बसाइँसराइ अवलोकन, गोठस्टे, होमस्टे र यार्चा पर्यटन जस्ता पर्यटनका नयाँ आयामलाई विकास गर्न सके स्थानीयवासीले पर्यटनबाट मनग्ये फाइदा लिन सक्ने सम्भावना रहेको छ । साथै यार्चागुम्बा सिजनमा हजारौँ सङ्कलनकर्ताले तिरेको प्रवेश पुर्जीबाट करोडौँ राजस्व उठ्छ । बर्सेनि छ/सात जना सङ्कलनकर्ताको विभिन्न कारणले मृत्यु भइरहन्छ तर यार्चा सिजनमा सङ्कलनकर्ताको स्वास्थ्योपचार र सुरक्षामा राज्यले खासै चासो दिएको पाइँदैन । राज्यले जनताबाट राजस्व मात्रै उठाउने होइन कि राजस्व तिरेका जनताको स्वास्थ्य सुरक्षाको पनि दायित्व लिन सक्नु पर्छ । तसर्थ हुँदाखाने स्थानीय बासिन्दाको उचित स्वास्थ्य व्यवस्था, आपात्कालीन उद्धार र बिमाको व्यवस्था गरिनु पर्छ ।
पशुपालन
माथिल्लो डोल्पामा भेडाच्याङ्ग्रा र याकचौँरीको व्यावसायिक पालनको राम्रो सम्भावना छ । पशुपालक किसानका लागि असुरक्षित परम्परागत खोरका कारण हिउँचितुवा र ब्वाँसोले समस्या दिएको पाइन्छ । मानव–हिउँचितुवा द्वन्द्वका बाबजुद पनि त्यहाँका किसानको हिउँचितुवाप्रतिको सकारात्मक सोच भने यथावत् नै छ । यसर्थ माथिल्लो डोल्पाका जनताले मानव–वन्यजन्तु सहअस्तित्वको उत्कृष्ट उदाहरण विश्वसामु प्रस्तुत गरेका छन् ।
न्यून खर्चमा तयार हुने सुधारिएको खोर निर्माण गरी सुरक्षित पशुपालनतर्फ कृषकको खासै ध्यान गएको पाइँदैन । औसतमा ५० वटा भेडाच्याङग्रा पाल्ने किसानले तीन/चार वटा भेडाच्याङग्रा बेची सजिलै तारजालीको छानाले बनेको सुधारिएको खोर निर्माण गर्न सक्छन् । तीन वर्षअघि मात्रै सालदाङका लुरी गाउँमा एकै रातमा एउटै हिउँचितुवाको आक्रमणमा परी गोठमा भएका ९४ भन्दा बढी भेडाच्याङग्रा मरेको तितो घटना हाम्रोसामु छ । परम्परागत सोच, अभ्यास र परम्परागत असुरक्षित गोठबाट माथि उठी वन्यजन्तुसँग सामञ्जस्यता राखी व्यावसायिक पशुपालनतर्फ अघि बढ्नु आवश्यक छ । त्यस्तै किसानले निकुञ्जमार्फत लागु भएको समुदायको प्रिमियम योगदानमा आधारित पशु बिमा कार्यक्रमलाई स्थानीय निकायको स्वामित्व र निकुञ्ज/मध्यवर्ती क्षेत्र उपभोक्ता समिति÷हिउँचितुवा संरक्षण उपसमितिले अभियानकै रूपमा लिन आवश्यक देखिन्छ ।
बहुमूल्य जडीबुटी
बहुमूल्य यार्चागुम्बा, पाँचऔँले, कटुकी, जटामसीसहितका जडीबुटीको प्रचुर सम्भावना भए तापनि जडीबुटीबाट जनता र सरकारले यथोचित फाइदा लिन सकेका छैनन् । जडीबुटीको वैज्ञानिक अध्ययन र अनुसन्धानको अभावमा त्यसको सङ्कलन र दिगो व्यवस्थापन र उपयोगमा पर्याप्त ध्यान पुग्न सकेको छैन । बुहुमूल्य जडीबुटीको वैज्ञानिक स्रोत नक्साङ्कनमार्फत गरी दिगो उपयोग र संरक्षण अत्यन्तै जरुरी छ । जडीबुटीको अवैध सङ्कलन र चोरी निकासी पनि यदाकदा भएको पाइन्छ । त्यस्तै निकुन्जको केही क्षेत्रमा केही जडीबुटीको अत्यधिक दोहन भएको स्थानीय जानकार बताउँछन् । केही जडीबुटी परिपक्व नहुँदै टिपिएको पाइन्छ । जसको परिणाम स्वरूप जडीबुटीलाई मात्र होइन वन्यजन्तु र स्थानीयका याकचौँरीलाई पनि क्षति पुगेका घटना हाम्रोसामु छन् । तसर्थ यस्ता गैरकानुनी कार्य रोक्न सम्बन्धित जिम्मेवार निकाय, प्रशासन र सुरक्षा निकायले प्रभावकारी अनुगमन र कानुन कार्यान्वयन गर्न ढिलाइ गर्न हुँदैन ।
मध्यवर्ती क्षेत्र/जिल्ला/आसपासका छिमेकी जिल्लाका जनतालाई यार्चागुम्बा सङ्कलनको अधिकार दिने सम्बन्धमा गहन छलफल हुन जरुरी छ । सिद्धान्तः परापूर्वकालदेखि धार्मिक र सांस्कृतिक रूपमा यार्चागुम्बाको संरक्षण र उपयोग गर्दै आएका आदिवासी जनतालाई यार्चागुम्बा सङ्कलनको प्राथमिक अधिकार दिइनु पर्छ । जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव रहेको सन्दर्भमा ७७ जिल्लाकै मानिसलाई राजस्व सङ्कलनका लागि यसरी यार्चागुम्बा खुला गर्दा भविष्यमा त्यसको नकारात्मक असरबाट डोल्पाली नै सबैभन्दा पहिला प्रत्यक्ष रूपमा प्रभावित हुने कुरामा शङ्का छैन । यस्तै अवस्था रहे महìवपूर्ण पाटनहरू भविष्यमा छाडा खुला मैदान पनि नबन्लान भन्न सकिन्न । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रभित्र च्याउ÷निउरो मध्यवर्ती क्षेत्रबाहेक अन्य जनताले उपभोग/टिप्न नपाउने तर से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको यार्चागुम्बा देशभरिकै जनताले उपभोग गर्न पाउने व्यवस्थाले कतै हाम्रा नीति विरोधाभाषपूर्ण त छैनन् भन्ने देखाउँछन् ।
हजारौँ सङ्कलनकर्ताबाट सृजित फोहोरमैलाका कारण बहुमूल्य जडीबुटी, डोल्पाली बासिन्दाको जीवीकोपार्जनको मुख्य स्रोत यार्चागुम्बा सङ्कटमा रहेको अध्ययनले देखाएको छ । ट्रेकिङ रुट र यार्चागुम्बा पाटनमा प्लास्टिकजन्य र सिसाजन्य पदार्थको प्रयोगमा रोक÷कडाइ गर्न प्रशासन र स्थानीय सरकारले पहलकदमी लिन जरुरी छ । त्यस्तै यार्चागुम्बा पाटनमा सङ्कलनकर्ताको चाप घटाउन केही नयाँ रणनीति अपनाउन सकिन्छ । जस्तै यार्चागुम्बा पाटनलाई ब्लकिङ गरी घुम्ती हिसाबले एक÷एक वर्षको अन्तरालमा यार्चापाटन खुलाउन सकिन्छ । छिमेकी राष्ट्र चीनमा पनि प्रत्येक चार÷चार वर्षमा यार्चापाटन खुलाउने गरेको पाइन्छ । तसर्थ मौजुदा नीति नियम माथि हेरफेर र समीक्षा गरी निकुञ्ज स्थापना भन्दा सयौँ वर्षदेखि प्राकृतिक स्रोत सम्पदाको उपभोग, व्यवस्थापन र संरक्षण गर्दै आएका आदिवासी जनताको अधिकार संरक्षण गर्दै यार्चागुम्बाको दिगो व्यवस्थापन र संरक्षण हुने हिसाबले नयाँ नीति ल्याइनु आवश्यक छ ।
साथै आधुनिक उपचार प्रणालीको उचित विकल्पको रूपमा डोल्पामा आम्ची स्वास्थ्य सेवा परापूर्वकालदेखि अभ्यास हुँदै आएको छ । विभिन्न जडीबुटीको दिगो प्रयोगमार्फत आम्ची अभ्यासले मानव स्वास्थ्यसँगै पर्यावरणीय स्वास्थ्य सुधारमा पनि विशेष योगदान दिन्छ ।
यस जिल्लामा आम्ची पद्धतिको सम्भावना र अवसर भएकोले डोल्पा जिल्ला हिमाली क्षेत्रको आम्ची हब बन्न सक्ने प्रबल सम्भावना छ । त्यसैले यस आम्ची सेवाको प्रवर्धन र विस्तारमा पनि उत्तिकै चासो दिन आवश्यक छ ।
संरक्षण र दिगो विकास
विश्वमै दुर्लभ वन्यजन्तु हिउँचितुवा, हिमाली ब्वाँसो, जङ्गली याकका कारण यस जिल्लाको विश्वमा छुट्टै सान र मान छ । पछिल्लो गणना अनुसार यस निकुञ्जमा ९० र डोल्पाको वन क्षेत्रमा ३० वटा दुर्लभ संरक्षित हिउँचितुवा हुनुले डोल्पाको जैविक विविधता र पर्यटकीय सम्भावना उच्च रहेको पुष्टि गर्छ । विकास अहिलेको आवश्यकता हो, जनताको अधिकार पनि हो । वातावरणमैत्री हरित विकास आजको युगको माग हो । विडम्बना, यदाकदा वातावरणीय अध्ययनबिना विभिन्न विकास निर्माणका कार्य भएका देखिन्छन् । सम्पन्न भएका अध्ययन पनि पर्याप्त अध्ययनबिनै भएका छन् । त्यसैले हिउँचितुवालगायतका अन्य दुर्लभ वन्यजन्तु र बुहुमूल्य जडीबुटीको बासस्थान भएर जाने पूर्वाधार निर्माण वातावरणीय पक्षमा सम्बद्ध निकायले उचित ध्यान दिन जरुरी छ ।
त्यस्तै हाल भएका पर्यटकीय पदमार्गलाई कुनै पनि असर नपारी सडक निर्माण गर्नु पर्छ । पदमार्गलाई नै सडक बनाउने वा पदमार्ग नजिकै भएर सडक बनाउने योजनालाई त्यागी बरु वैकल्पिक क्षेत्रबाट सडक निर्माण गर्दा फस्टाउँदै गएको ट्रेकिङले नयाँ उचाई लिन सक्छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समेत बखान गरेका सुलिगाड फोक्सुन्डो माथिल्लो डोल्पाको ट्रेकिङ मार्गको अक्षुण्ण राख्न सके मात्र यस जिल्लाले पर्यटक आकर्षण गरिरहन सक्छ नत्र भने मनाङ मुस्ताङमा यातायातको पहुँचका कारण ट्रेकिङ घट्ने अवस्था हुन सक्छ । यस्तै यस निकुञ्जको मुगुमा पर्ने डोल्फु सेक्टर सुलिगाड, डोल्पाबाटै व्यवस्थापन गर्न त्यहाँको विकटता, भूगोल, हावापानी र जनशक्ति अभावले चुनौतीपूर्ण छ । डोल्फु सेक्टरका बासिन्दाले निकुञ्जबाट पर्याप्त लाभ पनि लिन सकेका छैनन् । तसर्थ दुवै जिल्लाको सहज प्राकृतिक सम्पदा र जैविक विविधता संरक्षण र पर्यापर्यटन प्रवर्धनका लागि यस निकुञ्जको मुगुको डोल्फुलाई अलग्याउनु अत्यन्त जरुरी छ । साथै निकुञ्जको प्रभावकारी व्यवस्थापन र स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ प्रदान गर्न विद्यमान निकुञ्जका फिल्ड पोस्ट र मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको वर्तमान सन्दर्भ र आवश्यकता अनुसार संरचना हेरफेर गर्न आवश्यक छ ।