
काठमाडौँ। सर्वोच्च अदालतको परमादेशअनुसार गठित गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समिति मातहतको एनसीसी समन्वय उपसमितिले बैठक आह्वान गरेको छ।
उपसमितिका संयोजक तथा उच्चस्तरीय समितिका सदस्य बिनोद कुँवरले बिहीबार सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी)का अध्यक्षलाई बैठकबारे पत्राचार गरेका छन् । बैठक शुक्रबार साँझ ५ बजे (नेपाली समयानुसार) भर्चुअल रूपमा बस्नेछ।
बैठकका लागि विभिन्न ७ वटा एजेन्डा तय
बैठकका लागि विभिन्न ७ वटा एजेन्डा तय भएको कुँवरले बताए। उनका अनुसार सर्वोच्च अदालतको फैसला र सोको कार्यान्वयन सम्बन्धमा फैसला कार्यान्वयन निर्देशनालयबाट प्राप्त पत्रहरुको कार्यान्वयन सम्बन्धमा भनेर एउटा एजेन्डा तय गरिएको छ।
यसैगरी सदस्यता नवीकरण तथा नयाँ सदस्य दर्ताका लागि तोकिएको ३१ मार्चसम्मको समयसिमाका सम्बन्धमा, एनसीसीहरूका अधिवेशन सम्बन्धमा, अन्तराष्ट्रिय महाधिवेशन प्रतिनिधि सम्बन्धमा, उच्चस्तरीय समिति र राष्ट्रिय समन्वय परिषदबिच एमओयु सम्बन्धमा, केन्द्रीय कार्यालय सञ्चालन र विविध भनेर एजेन्डा तय गरिएको उनको भनाइ छ।
यी सबै विषयमा बैठकमा छलफल गरेर आवश्यक निर्णय लिइने कुँवरले बताए।
बैठकमा उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेको प्रमुख आतिथ्यता रहने छ भने संस्थापक अध्यक्ष डा उपेन्द्र महतो तथा पूर्व अध्यक्षहरू, उच्चस्तरीय समितिका सम्पूर्ण सदस्यहरू, परराष्ट्र मन्त्रालय साथै कानुन, न्याय र संसदीय मामिला मन्त्रालयका प्रतिनिधिहरू समेतको उपस्थिति रहने छ।
यस्तै गैरआवासीय नेपाली संघ एनसीसीका अध्यक्ष, पदाधिकारी तथा एनआरएनए अभियन्ताहरूको बैठकमा सहभागिता रहने भन्दै सक्रिय सहभागिताका लागि पत्रमार्फत अनुरोध गरिएको छ।
समितिले आगामी मे ३ देखि ५ सम्म काठमाडौँमा एकताको महाधिवेशन मिति घोषणा गरेको छ। उक्त महाधिवेशनमा एनसीसीहरुको प्रतिनिधित्व सुनिश्चितताका लागि उपसमितिले आवश्यक छलफल गर्न लागेको कुँवरको भनाइ छ।
गतवर्षको चैत २१ मा सर्वोच्चले घलेको नेतृत्वमा एनआरएनएको विवाद समाधान गरेर एकताको महाधिवेशन गर्न दिएको परमादेशअनुसार महाधिवेशन गर्न लागिएको हो।