बृहत्तर बुद्ध सर्किटको निर्माणमा साझेदारीको सम्भावना छ, उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे


काठमाडौं। कम्बोडिया भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल र कम्बोडियाबीच बृहत्तर बुद्ध सर्किटको निर्माणमा साझेदारीको सम्भावनाबारे छलफल गरेका छन् । मन्त्री पाण्डेले कम्बोडियाका पर्यटनमन्त्री हुअट हाक र संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनसँग मंगलबार भएको भेटका क्रममा सो सम्भावनाबारे छलफल भएको हो ।

कम्बोडियाका पर्यटन र संस्कृति तथा धार्मिक मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र कम्बोडियाबीच संस्कृति र पर्यटनका क्षेत्रमा समन्वय र सहयोगको सम्भावनाबारे छलफल भएको थियो ।

भेटवार्ताका क्रममा मन्त्री पाण्डेले नेपाल र कम्बोडियाको ऐतिहासिक सन्दर्भ र द्विपक्षीय पर्यटन सहयोगको महत्त्वलाई उल्लेख गर्दै भने, ‘कम्बोडिया र नेपालका इतिहास र धर्म एक अर्कासँग गहिरो सम्बन्ध राख्दछन् । हाम्रो मुलुकहरू दशकोंसम्म युद्ध र संघर्षको अवस्थाबाट गुज्रिएका छन् र अहिले हामी शान्ति, स्थायित्व र समृद्धिको बाटोमा अघि बढिरहेका छौं ।’

नेपालका प्रमुख धार्मिक स्थलहरू जस्तै लुम्बिनी, मुक्तिनाथ र जानकी मन्दिर तथा कम्बोडियाको अङ्कुरबाट दुई देशका साझा सम्पदा र तीर्थस्थलको रूपमा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले भने, ‘हाम्रो धार्मिक र सांस्कृतिक परिप्रेक्ष्यले समानता देखाउँछ र हामीसँग एक समान धार्मिक सहिष्णुता र सद्भाव छ।

दुवै पक्षले धार्मिक र सांस्कृतिक पर्यटन साझेदारी वृद्धि गर्ने विषयमा छलफल गरेका छौं । नेपाल र कम्बोडियाबीच सिधा हवाई उडानको सुरुवात हुन सकेको अवस्थामा पर्यटकहरूको आवागमनमा ठूलो सुधार गर्न सकिने विषयमा दुबै पक्ष सहमत भएको छ । यसका साथै बृहत्तर बुद्ध सर्किटको निर्माणमा साझेदारीको सम्भावनाबारे पनि छलफल भएको छ।’

मन्त्री पाण्डेले कम्बोडियाको एशिया क्षेत्रको सबैभन्दा ठूलो विमानस्थल निर्माणको बारेमा चर्चा गर्दै भने, ‘यस परियोजनाले नेपाल र कम्बोडियाबीचको भौतिक दूरीलाई छोटो बनाउनेछ।’

उनले नेपालमा पनि भैरहवा र पोखरामा निर्माण भएका अन्तर्राष्ट्रिय विमानस्थलहरुमा उडान भर्ने वायुसेवा कम्पनीहरुलाई विशेष सहुलियत सहितको व्यवस्था पछि ती सञ्चालनमा आएको प्रशंग उल्लेख गरे ।

कम्बोडियाली पक्षले नेपाललाई धन्यवाद दिँदै लुम्बिनीमा कम्बोडियाको स्तुपा निर्माणका लागि स्थान उपलब्ध गराएकोमा आभार व्यक्त गरेको छ।

साथै नेपाल र कम्बोडियाबीच द्विपक्षीय सहयोगका क्षेत्र र कार्यसम्पादन मोडालिटिको पहिचानका लागि राजदूत र कर्मचारीस्तरीय टोली गठनको आवश्यकतामा जोड दिएका छन्।

कम्बोडियाले २०२५ मा ७२ लाख अन्तर्राष्ट्रिय पर्यटकको आगमनको अपेक्षा गरेको जानकारी दिएको छ । पर्यटन क्षेत्रको पुनर्निर्माण र समृद्धिका लागि युएन टुरिजमको बृहत्तर छाता अन्तर्गत सहकार्यका लागि कम्बोडिया इच्छुक रहेको जनाइएको छ।