
काठमाडौं, नेपालको २० वाणिज्य बैंकहरूबाट यो फागुनमा २२ अर्ब ७४ करोड रूपैयाँ कर्जा लगानी भएको छ।
एक महिनामा पाँच वाणिज्य बैंकको कर्जा लगानी घटेको छ भने चार वटाको एक अर्ब रूपैयाँभन्दा कम प्रवाह भएको छ ।
नेपाल बैंकर्स संघको तथ्यांक अनुसार ग्लोबल आइएमई, कुमारी, एनआइसी एसिया, सिद्धार्थ र स्ट्याण्डर्ड चार्टर्ड बैंकको कर्जा लगानी घटेको हो।
कर्जा लगानी घटेको बैंक
- ग्लोबल आइएमई बैंकको कर्जा एक अर्ब ५१ करोड रूपैयाँले घटेर चार खर्ब २९ अर्बमा सीमित भएको छ।
- कुमारी बैंकको ४८ करोडले कर्जा लगानी रकम घटेर तीन खर्ब एक अर्बमा झरेको छ,
- एनआइसी एसियाको दुई अर्ब ५५ करोड रूपैयाँले कर्जा लगानी घटेर दुई अर्ब ४९ करोड रूपैयाँमा सीमित भएको छ।
- सिद्धार्थ बैंकको ९३ करोडले कर्जा लगानी घटेर दुई खर्ब १५ अर्ब रूपैयाँ र
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको चार करोडले घटेर ८५ अर्ब रूपैयाँ भएको छ।
हिमालयन, नेपाल इन्भेष्टमेण्ट मेगा, नेपाल एसबिआई र प्रभु बैंकको एक महिनामा कर्जा लगानी १९ करोडदेखि ३८ करोड रूपैयाँसम्मले बढेको छ।
सबैभन्दा धेरै कर्जा बढाउनेमा राष्ट्रिय वाणिज्य बैंक
एक महिनामा सबैभन्दा धेरै कर्जा बढाउनेमा राष्ट्रिय वाणिज्य बैंक छ । यो बैंकको कर्जा लगानी पाँच अर्ब ६७ करोड रूपैयाँ पुगेको छ।
गत असार मसान्त सम्ममा ४५ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका वाणिज्य बैंकहरूले साउनदेखि फागुनसम्ममा ४८ खर्ब ५० अर्ब ५९ करोड रूपैयाँ पु-याएका छन्।
चालु आवमा सबैभन्दा धेरै कर्जा विस्तार पुसमा भएको छ । वाणिज्य बैंकहरूले पुसमा ९४ अर्ब रुपैयाँले कर्जा प्रवाह बढाएका छन् ।
साउनमा वाणिज्य बैंकहरूको कर्जा विस्तार दुई अर्ब रुपैयाँले बढेर ४५ खर्ब ७३ अर्ब पुगेको थियो ।
भदौमा कर्जा विस्तार बढ्ने क्रममा रह्यो । भदौमा ५३ अर्बले बढेर कर्जा विस्तार ४६ खर्ब २६ अर्ब रुपैयाँ पुगेको थियो ।
त्यसपछि चाडपर्वको समय असोजमा कर्जा विस्तार ५६ अर्बले बढेको थियो । असोजमा वाणिज्य बैंकहरूले ४६ खर्ब ८२ रुपैयाँ कर्जा विस्तार गर्न सकेकोमा कात्तिकमा २ अर्ब रुपैयाँले घट्न पुग्यो । कात्तिकमा कर्जा विस्तार घटेर ४६ खर्ब ८० अर्ब रुपैयाँमा संकुचित भएको थियो । मंसिरमा ४७ खर्ब २२ अर्ब रुपैयाँ पुगेको वाणिज्य बैंकहरूको कर्जा विस्तार पुसमा यो आर्थिक वर्षकै सबैभन्दा धेरै ९४ अर्ब रुपैयाँले बढेर ४८ खर्ब १६ अर्ब रुपैयाँ पुग्यो । माघमा ४८ खर्ब २७ अर्ब कर्जा लगानी पुगेकोमा फागुनमा ४८ खर्ब ५० अर्ब ५९ करोड रुपैयाँ पुगेको हो ।
पछिल्लो समय ब्याजदर घटेर निकै न्यून विन्दुमा झरिसकेको छ । चैतका लागि पनि बैंकहरूको ब्याजदर स्थिर नै छ । यसले कर्जा विस्तारका लागि अझै सहयोग पुग्ने बैंकरहरूको अपेक्षा छ । केन्द्रीय बैंकका अनुसार २०८१ पुसमा वाणिज्य बैंकहरुको औषत आधार दर ६.६५ प्रतिशतमा झरेको छ । गत आवको सोही अवधिमा ९.३५ प्रतिशत थियो । त्यसैगरी २०८१ पुसमा वाणिज्य बैंकहरुको कर्जाको भारित औषत ब्याजदर ८.६९ प्रतिशत रहेकोमा २०८० पुसमा ११.३८ प्रतिशत थियो ।
ब्याजदर कम हुँदै गर्दा आयात पनि बढ्न थालेको छ । केन्द्रीय बैंकका अनुसार चालु आवको पुससम्ममा कुल वस्तु आयात ७.१ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा आयात ३.१ प्रतिशतले घटेको थियो । आयात बढ्दै जानुको अर्थ बजार चलायमान बन्न थालेको छ । अहिले बैंकहरूमा कर्जाको माग पनि विगतको तुलनामा बढ्न थालेको छ ।