गोकर्णेश्वर, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले नगरवासीहरूका लागि राहतदायी र ऐतिहासिक निर्णय लिएका छन्। अब गोकर्णेश्वरका नागरिकहरूले क्यान्सर रोगको उपचारमा आर्थिक अभावका कारण अकालमै ज्यान गुमाउनु नपर्ने भएको छ।
मेयर रिसालको पहलमा गोकर्णेश्वर नगरपालिकाले भक्तपुर क्यान्सर अस्पतालसँग विशेष सम्झौता गरेको छ। उक्त सम्झौताअनुसार, गोकर्णेश्वर नगरपालिकावासीहरूले क्यान्सर उपचारमा ४ लाख रुपैयाँसम्मको सहुलियत पाउनेछन्।
नगर प्रमुख दीपक रिसालले भने, “क्यान्सर जस्तो गम्भीर रोगबाट पीडित नागरिकहरूले उपचार अभावमा ज्यान गुमाउनु पर्नु दुखद हो। कुनै पनि नगरवासीले उपचारको अभावमा अकालमै ज्यान गुमाउनु नपरोस् भनेर हामीले भक्तपुर क्यान्सर अस्पतालसँग सम्झौता गरेका छौं। यस सम्झौताले आर्थिक अभावका कारण उपचार नपाएका नागरिकहरूलाई ठूलो राहत मिल्नेछ। नगरवासीहरूको स्वास्थ्य सुरक्षामा नगरपालिका सदैव प्रतिबद्ध छ।”
यस निर्णयले गोकर्णेश्वरका आर्थिक रूपमा कमजोर वर्गका नागरिकहरूलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ। क्यान्सर उपचारको उच्च खर्चका कारण पीडित परिवारहरूले भोग्नुपर्ने आर्थिक बोझ कम हुने आशा गरिएको छ।
स्थानीयवासीहरू, सामाजिक अभियन्ता र स्वास्थ्यकर्मीहरूले मेयर रिसालको यो कदमको खुलेर प्रशंसा गरेका छन्। उनीहरूले यो सम्झौताले गोकर्णेश्वरमा स्वास्थ्य सुरक्षाको नयाँ ढोका खोल्ने विश्वास व्यक्त गरेका छन्।
यो पहलले गोकर्णेश्वर नगरपालिकाका नागरिकहरूलाई समयमै उपचार गराउन मद्दत गर्नेछ र क्यान्सर रोगका कारण हुने मृत्यु दर कम गर्न सकारात्मक योगदान पुर्याउनेछ।