
काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एसोसिएसन नेपाल ( फ्यान ) को आयोजनमा राजधानी काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा गत शुक्रबारदेखि जारी ‘ २६ औं फ्लोरा एक्स्पो – २०८१ ’ आज सम्पन्न भएको छ।‘
स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय ’ भन्ने मूल नाराका साथ ४ दिनसम्म चलेको एक्स्पोमा १ करोड १० लाख ७० हजारभन्दा बढीको कारोबार भएको र ५९ हजार बढीले अवलोकन गरेको फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक राम बहादुर तामाङ ( सुनिल ) ले जानकारी दिए ।
एक्स्पोमा आलंकारिक बोटबिरुवा, सिजनल फूल बिरुवाहरु, सुनखरीका फूल बिरुवाहरु, फलफूलका बोटबिरुवाहरुको कारोबार तामाङले बताए । त्यस्तै, फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले एक्स्पोमा फूलप्रेमी तथा अवलोकनकर्ताहरुको भीड बाक्लो भएका कारण सोचेअनुरुपनै कारोबार भएकोमा आफू उत्साहित बनेको र अर्को वर्ष गरिने एक्स्पो अन्तराट्रियस्तरको गरिने योजना रहेको जानकारी दिए ।
यस्तै, उक्त एक्स्पोमा व्यावसायिक ६७, ल्याण्डस्केपिङ १, अफिसियल १०, प्रतियोगितात्मक प्रदर्शनी २ र फूडस्टल ३ वटा सहित जम्मा ८३ वटा वटा स्टल रहेको थियो । उक्त एक्स्पोमा पुष्प उत्पादक, थोक तथा खुद्रा व्यापारी, आयात तथा निर्यातकर्ता, सामग्री आपूर्तिकर्ता कम्पनी / फर्महरु तथा उपभोक्ताहरूको सक्रिय सहभागिता थियो।
यसैगरी, ४ दिने एक्स्पो अवधीमा वाग्मती प्रदेश सरकार कृषि तथा पशुपंक्षी मन्त्री प्रकाश श्रेष्ठ, वाग्मती प्रदेश सरकारका वन तथा वातावरण मन्त्रीले समेत मेला अवलोकन गरेका थिए।
त्यसैगरी, वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, कृषि सचिव डा. गोविन्द प्रसाद शर्मालगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले पनि एक्स्पो अवलोकन गरेका थिए।
एक्स्पोलाई भव्य रुपमा संचालन गर्न विभिन्न संघ / संस्थाहरुको सहयोग तथा सहकार्य रहेको थियो । साईमेक्स प्रा.लि. (वी वाई डिको आधिकारी बिक्रेता), नेपाल डेरी प्रा.लि. प्रारम्भ बायोटेक, पान अमेरिकन सीडको स्पोन्सर थियो, भने वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यद्दारा अभिनित चलचित्र ‘ भुठान ’ समुहको समेत पुष्प मेला प्रचारप्रसारमा सहयोग थियो। साथै, मेला स्थलको भव्य डेकोरेसनमा विभिन्न नर्सरी तथा कट फ्लावर व्यवसायीहरुको समेत सहयोग रहेको थियो ।
एक्स्पो अवलोकनका लागि सर्वसाधारणहरुका लागि १ सय ५० र विद्यार्थीहरुका लागि १ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको र जेष्ठ नागरिकहरुलाई भने नि:शुल्क प्रवेशको व्यवस्था गरिएको थियो ।
हाल नेपालका ५२ वटा जिल्लामा २६० हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक पुष्प खेती भइरहेको एसोसिएसनले जनाएको छ । जसमा १ हजार १ सय बढी पुष्प व्यवसायी संलग्न छन् । यस क्षेत्रमा करिब ८ अर्ब ८३ करोड हाराहारीको लगानी भइसकेको र प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ५१ हजार ५ सय जनशक्तिले रोजगार प्राप्त गरेको जनाएको छ।
नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार ३ अर्ब ६८ करोडभन्दा बढी रहेको एसोसिएसनले जनाएको छ ।