
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज सम्मेलन थाइल्यान्डमा शनिबारबाट (१५ मार्च २०२५) सुरु भएको छ।
‘इम्पावरिङ द युथ, सार्पिङ द पिएनओज फ्युचर’ भन्ने मूल नाराका साथ सुरु सम्मेलन दुई दिनसम्म चल्नेछ।
नेपालबाट युवाहरूको विदेश पलायन भइरहेको र देशमा सक्रिय जनसंख्या घट्दै गएको अवस्थामा, सम्मेलनमार्फत नेपाली प्रवासी युवाहरूलाई सशक्त बनाई उनीहरूलाई नेपालको समृद्धि र विकाससँग जोड्ने मुख्य उद्देश्य सम्मेलनको रहेको बताइएको छ।
कार्यक्रमको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गरेका हुन् । सो अवसरमा सम्बोधन गर्दै मन्त्री बद्री पाण्डेले विदेशमा बस्ने हरेक नेपालको वास्तविक राजदूतको भूमिका निर्वाह गरिरहेको बताए।
नेपालले एकता र सहमतिको वातावरण निर्माण गर्न अपरिहार्य रहेको उनको भनाइ थियो।
उनले भने, “लोकतन्त्रलाई अगाडि बढाउने गतिमा देश बाहिर भित्र जे भएपनि त्यो प्रतिस्पर्धाभित्र एकता, सहमति, परिवर्तन र सुधार र अग्रगमनको यात्राको गतिमा कमी आउन दिनुहुन्न।
यही भावना तपाईं एनआरएनभित्र पनि हुनु जरुरी छ । अहिले जे जस्तो अवस्था छ त्यसबाट छुटकारा पाउन पनि प्रतिस्पर्धालाई होइन एकता र सहमतिलाई प्राथमितामा राख्नु जरुरी छ।”
थाइल्याण्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले एनआरएनए अभियानले विश्वभरका नेपालीलाई एकबद्ध रहेकोले सामान्य विवादमा अल्झेर संस्थालाई संकटमा पार्नु नहुने बताए।