संस्कार समाज नेपालको सातौं वार्षिकोत्सव सम्पन्न


काठमाडौं । संस्कार समाज नेपालको सातौं वार्षिकोत्सव कार्यक्रम शनिबार काठमाडौंको सामाखुशीस्थित साम्बा रेष्टुरेन्टमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा काठमाडौं महानगरपालिका–२६ का वडा सदस्य प्रवेश श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो।

समाजका अध्यक्ष पशुपति गुरूङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उदाहरणीय व्यवसायी तथा समाजसेवी बिमला लामा, पत्रकार राजकुमार सिलवाल, र बालप्रतिमा सदृश चुडाललाई क्रमशः दश हजार, पाँच हजार र पाँच हजार नगदसहित सम्मान गरियो।

कार्यक्रममा अध्यक्ष गुरूङले समाज स्थापना कालदेखि भएका संघर्ष र त्यसले समाजमा पारेको सकारात्मक प्रभावबारे चर्चा गर्दै खुशी व्यक्त गर्नुभयो। उहाँले “समाजमा संस्कारको महत्व झल्किने प्रतिक्रिया पाउँदा उत्साहित हुने गरेको” बताउनुभयो।

प्रमुख अतिथि श्रेष्ठले संस्कार समाजका अध्यक्ष गुरूङलाई उदाहरणीय व्यक्तित्वको रूपमा चित्रित गर्दै समाजमा हराउँदै गएको संस्कार जोगाउन यस्ता अभियानहरूको आवश्यकता औंल्याउनुभयो। उहाँले “समाजमा संस्कार हराउँदै गएको र मानिसहरूले आफ्नो पहिचान बिर्सन थालेको” भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

संस्कार समाज नेपालले संस्थापक अध्यक्ष पशुपति गुरूङको जन्मदिनको अवसरमा वार्षिकोत्सव मनाउने परम्परा कायम राखेको छ।

सचिव प्रकाश समीरले संस्थापकप्रतिको सम्मानस्वरूप उहाँकै जन्मदिनको अवसरमा वार्षिकोत्सव आयोजना गर्दै आएको जानकारी दिनुभयो।