कामना सेवा विकास बैंकका नव नियुक्त सीईओ दिनेश थकालीले आइतवार देखि बैंकको कार्यभार सम्हालेका छन् । बैंक सञ्चालक समितिको बैशाख १३ गते बसेको बैठकले थकालीलाई सीईओ नियुक्त गरेको थियो। बैंकको सञ्चालक समितिले थकालीलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ।
बैंकिङ्ग क्षेत्रमा करिब २२ वर्ष अनुभव बटुलेका थकाली एक कुशल बैंकरको रुपमा परिचित छन् । त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातकको अध्ययन पूरा गरेका थकालीले सांग्रिला डेभलेपमेन्ट बैंकबाट म्यानेजमेण्ट ट्रेनीको रुपमा बैंकिङ्ग करियर सुरु गरेका थिए । चार्टर्ड एकाउन्टेन्ट समेत रहेका थकाली छोटो समयमै बैंक तथा वित्तीय क्षेत्रमा कुशल व्यवस्थापकका रुपमा परिचित छन् ।
३२ वर्षको उमेरमै तत्कालिन सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थकाली बागेश्वरी र साग्रिला गाभिए पछि कम्पनी सचिव तथा डेपुटी सिइओ भए ।सांग्रिला डेभलपमेन्ट पछि थकाली प्रभु बैंकको प्रमुख सञ्चालन अधिकृतमा प्रवेश गरेका थिए । प्रभु बैंकको नायव महाप्रवन्धक तथा प्रमुख बजार अधिकृतको रुपमा रहेका थकालीले साढे दुई वर्ष प्रभु क्यापिटलको प्रवन्ध संचालक पदमा रहेर काम गरेका थिए ।