
निराज रानाभाट, रुपन्देही। नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रले तराई क्षेत्रका युवा उधमी कृषकहरूका लागि रुपन्देहीको भैरहवास्थित राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रममा ७ दिने ‘ आवासीय कृषि यान्त्रीकरण तालिम ’ आयोजना गरेको छ।
यो तालिम कृषि प्रणालीलाई आधुनिक बनाउँदै उत्पादन वृद्धि गर्ने, कृषकहरूलाई व्यावसायिक बनाउने तथा वैदेशिक रोजगारीमा जाने युवाहरूलाई स्वदेशमै आत्मनिर्भर बनाउन प्रेरित गर्ने लक्ष्यसहित आयोजना गरिएको हो ।
उक्त तालिमका लागि वि.सं. २०८१ पुस १९ गतेको गोरखा पत्रमार्फत आवेदन माग गरिएको थियो, जसमा १४ जिल्लाका २० जना कृषक सहभागी छन् ।
कृषि यान्त्रिकीकरण सम्बन्धि प्रयोगात्मक तथा सैद्धान्तिक ज्ञान दिने उद्देश्यले आयोजना गरिएको तालिममा प्रयोगशाला, कृषि यान्त्रिकीकरण सम्बन्धि, कृषि औजार / उपकरण सम्बन्धि, ट्र्याक्टर, पावर टिलर मर्मत / सम्भार तथा संचालन, सिँचाइ प्रणाली, थ्रेसर संचालन, टनेल खेती, मल व्यवस्थापन, ड्रोन, पोस्टहार्भेस्ट, स्टोरेज प्रविधि, यन्त्र तथा वाहक यन्त्रका विविध कृषि इन्जिनियरिङ विषयमा कार्यशालालगायत समेटिएका छन् ।
तालिम अवधिमा विभिन्न कृषि यन्त्र मर्मत कक्षहरू, बिक्री केन्द्र, अनुसन्धान स्थल र व्यवसायिक कृषक फार्मको भ्रमण गराउने कार्यक्रम समेत रहेको छ।
तालिम संयोजक इन्जिनियर गंगाराम भण्डरीका अनुसार यस तालिमले बेरोजगार युवा तथा उत्साही कृषकहरूलाई आधुनिक कृषिमा संलग्न गराउने मात्र होइन, व्यावसायिक कृषकका रूपमा अगाडि बढ्न मद्दत गर्नेछ । यस किसिमका तालिमहरूले कृषिमा यान्त्रीकरणमार्फत उत्पादकत्व वृद्धि गर्न सहयोग गर्ने विश्वास गरिएको छ । उक्त तालिम पश्चात, कृषि यान्त्रिकीकरण सम्बन्धि प्राप्त ज्ञान र सिपको उपयोग गरी बेरोजगार युवा उधमी किसान र उधमी किसान व्यावसायिक किसानहरुमा परिवर्तन हुने लक्ष्य राखिएको छ ।
उक्त तालिम फागुन २५ गतेसम्म संचालन हुने छ ।