ईकोनोमिक खबर, काठमाडौं। विश्व जैविक विविधता दिवसको अवसरमा विवाईडी गाडीको आधिकारिक वितरक साईमेक्स ईन्कले सामाजिक उत्तरदायित्वको पहल गर्दै ‘सपना र वनजङ्गलको निर्माण’ अभियानको घोषणा गरेको छ ।
यो अभियानले बि।सं २०६२ मा गैरकानुनी बालुवा खानी उत्खनन् र फडानीको चपेटामा परेको चखनडोल सामुदायिक वन पुनर्स्थापनाको लक्ष्य लिएको छ ।
कुनैबेला विविध जीव र वनस्पति सहित फस्टाएको चखनडोल सामुदायिक वनको विगतमा निकै दोहन भयो । तर, ‘सपना र वनजङ्गलको निर्माण’ अभियानले, वनमा स्थानीय प्रजातिका बिरुवा लगाई ति हुर्कने अनुकुल वातावरणको निर्माण गरि, चखनडोल सामुदायिक वनलाई पहिलेकै अवस्थामा फर्काउने लक्ष्य राखिएको छ ।
विश्वमै सर्वाधिक प्रदुषित सहर काठमाडौँ, वायु प्रदुषणको चपेटामा छ र यो समग्र अभियानले पर्यावरण र जीवजन्तु सबैमा महत्वपूर्ण प्रभाव पार्नेछ, भनिएको छ । यो महत्वकांक्षि प्रयासले वनलाई ब्युँत्याउने मात्रै छैन, ७९८ थरिका विभिन्न चराका प्रजातिलाई फेरी फर्काउन र यस क्षेत्रको पर्यावरण सन्तुलनमा समेत सघाउने छ ।
वृक्षारोपणको पहिलो बर्षनै यो अभियानले ८२७ टन अक्सिजन उत्पादन गर्दै ३१० टन कार्बन संरक्षण गर्नेछ भने पाँच बर्ष भित्रै वनले १५५० टन कार्बन जम्मा गर्दै ४१३३ टन अक्सिजन उत्पादन गर्नेछ ।
साईमेक्स ईन्कका प्रमुख मार्केटिंङ्ग अधिकृत समीर श्रेष्ठका अनुसार, यो अभियानले विवाईडी प्रविधिको प्रयोग पर्यावरण संरक्षणमा भन्ने मूल्य र मान्यताको पृष्ठपोषण गर्छ। उनले भने, “यो अभियानले चखनडोल सामुदायिक वनलाई पुनर्जिवित गर्ने मात्र नभई, वातावरण संरक्षणमा हाम्रो निरन्तरको प्रयास र दिगो भविष्य निर्माणको हाम्रो लक्ष्यको प्रतिनिधित्व गर्छ र हामीलाई विश्वास छ यो कार्यक्रमले अरुलाई पनि जैविक विविधताको क्षेत्रमा काम गर्न प्रेरित गर्नेछ ।”
‘मियावाकी’ प्रबिधि बाट १५०० रुख रोपिने यो अभियान विश्व जैविक विविधता दिवसका अवसरमा घोषणा गरिएको हो । पृथ्विको सुरक्षा गर्दै भावी सन्ततिका लागि जैविक विविधताको संरक्षणको महत्वका बारे जनचेतना फैलाउदै यो दिवस मे २२ का दिन विश्व भर मनाइन्छ ।