
काठमाडौं । सरिना जी ट्रेड प्रालि लिमिटेडले इभी ट्याक्सी हस्तान्तरण गरेको छ । आइतबार एक विशेष समारोहकाबीच बुकिङ गरिएका ट्याक्सीहरु हस्तान्तरण गरिएका हुन् ।
उक्त हस्तान्तरण समारोमा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले ट्याक्सीहरुलाई व्यवस्थित गर्नका लागि बागमती प्रदेश सरकारले नीति बनाएर काम गरिरहेको बताए । उनले ट्याक्सीहरुको राम्रो व्यवस्थापन गर्न साथै नागरिक र व्यवसायीविच सम्बन्ध कायम गर्ने गरी नीति ल्याइएको बताए ।
उनले भने, ‘बागमती प्रदेश सरकारले ट्याक्सीहरुलाई व्यवस्थित गर्नका लागि एउटा नीति बनाएका छौं । जुन नीतिको आधारमा इभी ट्याक्सी व्यवस्थित हुने विश्वास छ । बागमती प्रदेश सरकारले नागरिक र सबैको सम्बन्ध कायम गर्नेगरी नीति ल्याएको छ । सबैले चढ्न सक्ने खालको ट्याक्सीको अवधारणा तयार गरेर नीति तयार गरिएको छ ।’
समारोहमा बाग्मती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठले इभी ट्याक्सीको व्यवस्थापनमा सरकार गम्भीर रहेको बताए । सरिना जी ट्रेड प्रालिका संचालक राजु श्रेष्ठले इभी ट्याक्सीको आयात र विक्री वितरणमा सरकारले सहज नीति अवलम्बन गर्नुपर्ने बताए । उनले ठूला र मझौला व्यवसायीका समस्यालाई एकमुष्ट सम्बोधन गर्नेगरी सरकारले कार्यक्रमहरु ल्याउनेपर्ने औंल्याए ।
सरिना जी ट्रेड प्रालिले नेपाल ल्याएको नयाँ विद्युतीय ट्याक्सी इभीइजीको बुकिङ खुला भएसँगै हस्तान्तरण गरिएका हुन् । जेएमइभी ब्रान्डको उक्त ट्याक्सीलाई ४१ लाख ५० हजार रुपैयाँ पर्ने र १ लाख १ हजार रुपैयाँ भुक्तानी गरि बुकिङ गरिएका थिए ।
जेएमइभीको सेडान कार जीएसइलाई हालै जगदम्बा मोटर्स अन्तर्गतको शौर्य अटोमोबाइल्सले लन्च गरेको थियो । लगत्तै अर्को कम्पनीले यसको ट्याक्सी भर्सन नेपाल ल्याएको हो ।
इभीइजी ट्याक्सीमा ४९ किलोवाट आवरको ब्याट्री प्याक र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । सिंगल चार्जमा यसले ४३० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । यसको अधिकतम टर्क २२५ एनएम तथा पावर १३४.६ पिएस छ ।
एसी र डिसी दुबै चार्जर सपोर्ट गर्ने यस इभीलाई डिसी फास्ट चार्जरको सहायतामा ३० मिनेटभित्रै ३० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । साथै, एसी चार्जरले नौं घण्टा र डिसी चार्जरले एक घण्टा १५ मिनेटमा फुल चार्ज गर्न मिल्छ । कम्पनीले यसको ब्याट्रीमा आठ वर्ष अर्थात एक लाख ५० हजार र मोटरमा तीन वर्ष अर्थात ६० हजार किलोमिटर वारेन्टी दिएको छ ।