
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाउन लागिएको हो ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दैछन् ।
शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक ४ प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ।
नेपालमा महा शिवरात्रि केवल धार्मिक पर्व मात्र नभई सामाजिक, आर्थिक र राजनीतिक दृष्टिले पनि महत्वपूर्ण पर्व हो। यस पर्वले नेपाली समाजलाई एकताबद्ध गर्न, पर्यटन र व्यापार प्रवर्द्धन गर्न तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्न भूमिका खेल्छ।
नेपालमा यो पर्वलाई अझ व्यवस्थित, मर्यादित र प्रभावकारी रूपमा मनाउने व्यवस्था गरिएमा धार्मिक पर्यटन प्रवर्द्धन गर्दै आर्थिक लाभ उठाउन सकिन्छ।
साथै, समाजमा नैतिकता, सद्भाव र सहिष्णुतालाई अझ सुदृढ बनाउन महाशिवरात्रि प्रेरणादायी बन्न सक्छ।
महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्रमा रातिदेखि नै भक्तजनको भीड लागिसकेको छ । बिहान २ बजेदेखि नै मन्दिरका चार वटै ढोका खोलिएको छ ।
दर्शनार्थी, साधुसन्त एवं भक्तजनको सङ्ख्या वृद्धि भएकाले सुरक्षा तथा स्वास्थ्यका मापदण्ड पालना गर्न पशुपति क्षेत्र विकास कोषले आह्वान गरेको छ ।
पशुपति क्षेत्रमा सुरक्षा व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको टोली परिचालन गरिएको छ ।