मौद्रिक नीतिको दोस्रो समीक्षा सार्वजनिक, दोस्रो समीक्षामा पनि नीतिगत व्यवस्थामा खास परिवर्तन नहुने


१३ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो समीक्षा सार्वजनिक गरेको छ ।

सार्वजनिक व्यवस्था अनुसार असल कर्जाको प्रोभिजन दर १ प्रतिशतमा झारिएको छ । यसअघि यस्तो दर १.१ प्रतिशत थियो ।

भाखा नाघेको ३ महिनासम्मको कर्जालाई असल कर्जाका रुपमा व्याख्या गरिँदै आएको छ । सो कर्जामा बैंकहरुले अब १ प्रतिशत मात्रै प्रोभिजन गरे पुग्नेछ । यसले बैंकहरूको प्रोभिजन रकम केही घट्न सहयोग पुग्नेछ ।

मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाका रूपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ ।

यद्यपि यो पटकको दोस्रो समीक्षामा पनि नीतिगत व्यवस्थामा खास परिवर्तन नहुने एक उच्च अधिकारीले बताए । ‘मौद्रिक नीतिमा गरिएका व्यवस्था तत्कालै परिवर्तन गर्नुपर्ने भएमा मात्रै फेरबदल हुने हो, अहिले त्यस्तो फेरबदल गर्नैपर्ने अवस्था कतै देखिएको छैन’ स्रोतले भन्यो ‘त्यसकारण नीतिगत व्यवस्थामा खासै फेरबदल नहोला ।’

यसअघि पहिलो त्रैमासिक समीक्षामा पनि कुनै परिवर्तन गरिएको थिएन । हाल नीतिगत दर ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर ३ प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा ६.५ प्रतिशत छ ।