
काठमाडौँ– ताप्लेजुङमा ‘नो केबलकार समूह’को आन्दोलन चर्किँदै गएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आइतबार बिहान ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि फुङलिङ बजार र काफ्लेपाटी क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन्।
निषेधित क्षेत्रमा पाँच जनाभन्दा बढी भेला भएर सभा, जुलुस, प्रदर्शन, घेराउजस्ता कार्यक्रम गर्न नपाइने आदेशमा उल्लेख छ।
पाथीभरा क्षेत्रमा निर्माण हुने केबलकारको विषयलाई लिएर ताप्लेजुङमा पछिल्लो समय विवाद भइरहेको छ। पहिचान पक्षधर ‘नो केबलकार समूह’ले दिनहुँ जसो आन्दोलन गरिरहेका छन्। सोही क्रममा शनिबार साँझ आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो।