नेपाल ‘ग्रे’ लिस्टमा पर्ने पक्का


काठमाडौं । अन्ततः नेपाल सम्पति शुद्धीकरणको ‘ग्रे’ लिस्टमा पर्ने पक्का भएको छ । फ्रान्समा जारी फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को दोस्रो प्लेनरी बैठकले नेपाललाई दुई वर्षका लागि ‘ग्रे’ लिष्टमा राख्ने प्रस्ताव गरेको हो ।

सम्पत्ति शुद्धीकरण तथा आपराधिक गतिविधिको निगरानी राख्ने अन्तर्राष्ट्रिय संगठन फाइनान्सियल एक्सन फोर्स (एफएटीएफ) र सोको एशिया प्यासिफिक ग्रुप (एपीजी) ले गत वर्षनै नेपाल सम्पत्ति शुद्धीकरणको उच्च जोखिममा रहेको औंल्याउँदै एक वर्षभित्र यसको निराकरण गरिसक्न चेतावनी दिएको थियो ।

खासगरी नेपालको वित्तीय क्षेत्र, सहकारी, क्यासिनो, सुनचाँदी व्यवसायको क्षेत्र र घरजग्गा कारोबार तथा एजेन्टमाथिको सम्पत्ति शुद्धीकरणको जोखिम रहेको औंल्याउँदै एपीजीले यी क्षेत्रको गम्भीर रुपमा सुपरिवेक्षण गर्न भनेको थियो।

नेपालको बैंक तथा वित्तीय संस्थामा समेत यस्ता सम्पत्ति शुद्धीकरण तथा आपराधिक गतिविधिको पैसा कारोबारको जोखिम रहेको बताउँदै एपीजीले राष्ट्र बैंकको फाइनान्सियल इन्भेस्टिगेसन यूनिट(एफआईयू) लाई वाणिज्य बैंक र अन्य उच्च जोखिम भएका वित्तीय संस्थाको गतिविधि प्राथमिकता दिएर निरीक्षण गर्न सुझाव दिएको थियो।

आतंकवादी क्रियाकलापको शंकाको घेरामा रहेका व्यक्ति तथा संस्थाको कारोबार र नगद प्रवाहलाई सुपरिवेक्षण गर्न ‘टार्गेटेड फाइनान्सियल स्याङ्सन’ (टीएफएस) लागू गर्न एपीजीले नेपाललाई सुल्झाएको थियो।

तर, उक्त मुद्दामा कुनैपनि सुधार हुन सकेन। अन्ततः एफएटीएफले नेपाललाई कालो सूचिमा राख्ने निर्णय गरेको हो ।

एफएटीएफले आजै साँझ पत्रकार सम्मेलन गर्दै नेपाललाई ग्रे लिस्टमा राखेको औपचारिक घोषणा गर्ने तयारी गरेको छ।

नेपालसँगै लाओस पनि एफएटीएफको ग्रे लिस्टमा पर्ने भएको छ ।