ईकोनोमिक खबर, काठमाडौं। धरासायी अवस्थामा रहेको पोल्ट्री क्षेत्रलाई लयमा ल्याउन नीतिगत गृहकार्य आवश्यक रहेको नेपाल अण्डा उत्पादक संघले बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पुष्पकमल दाहालसँग भेटवार्ताको क्रममा शनिबार नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले धरासायी रहेको पोल्ट्री क्षेत्रलाई लयमा ल्याउन नीतिगत गृहकार्य आवश्यक रहेको बताउनुभएको हो ।
केही दिन अघि चितवनमा भएको पोल्ट्री व्यवसायी शंकर कंडेलको मृत्यु प्रकरणलाई स्मरण गर्दै अध्यक्ष केसीले अन्य व्यवसायीलाई बचाइ राख्ने जिम्मा सरकारको भएको बताउनुभयो । उहाँले भन्नुभयो, अन्य पोल्ट्री व्यवसायीलाई बचाइराख्ने हो भने सरकारले छिटो नीतिगत गृहकार्य शुरु गरोस् अन्यथा कंडेल प्रतिनिधि पात्र मात्र हुन् अन्य व्यवसायीले पनि सो कदम उठाउने स्थित आउन सक्छ । जवाफमा प्रधानमन्त्री दाहालले सरकार यस विषयमा गम्भिर रहेको बताउनुभयो ।
यस अघि अण्डा उत्पादक संघले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर पोल्ट्री व्यवसायलाई माफियाबाट बचाए पोल्ट्री व्यवसायी टिकिराख्ने अवस्था बन्ने भनाइ राख्नुभएको थियो । व्यवसायीलाई भारतीय बजारसँग भन्दा पनि माफियासँग खतरा रहेको अध्यक्ष केसीको भनाइ थियो । उहाँले भन्नुभयो, मिटरव्याजीको लागि सरकारले जति गम्भिर भएर काम गरिरहेको छ, त्यो भन्दा बढी गम्भिर पोल्ट्री व्यवसायलाई माफियाबाट बचाउन हुनुपर्ने अवस्था आएको छ । मिटरव्याजी भन्दा खतरनाक माफिया जालोले पोल्ट्री व्यवसायलाई विस्थापिन नै गर्न लागेको केसीको भनाइ छ ।
दानाको कच्चा पदार्थमा भएको मूल्यवृद्धि, उच्च ब्याजदर, लागतअनुसारको बजार मूल्य नपाउँदा, भारतीय उत्पादन निर्वाधरुपमा प्रवेश पाउँदा र माफियाको चलखेलका कारण पोल्ट्री व्यवसाय समस्यामा परेको हो । यसको समाधानका लागि सरकार व्याजछुट, अनुदान लगायत कार्यमा अल्मलिनु भन्दा एउटा आयोग गठन गरि नीतिनिर्माणतिर केन्द्रीत हुनुपर्ने संघको भनाइ छ ।
बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले भने पोल्ट्री बोर्डनै गठन गरेर सम्बोधन गर्ने तयारी गरे पनि बोर्ड गठनका लागि अध्यादेश प्रमाणीकरण भएको छैन ।