
काठमाडौं । गाजा युद्धविरामपछि इजरायलको ‘हेरचाह तथा स्याहार क्षेत्र’ मा सहायक कामदार (केयरगिभर) को लागि पहिलो चरणका नेपालीहरू इजरायल प्रस्थान गरेका छन्।
वैदेशिक रोजगार विभागले प्रकाशित गरेको दोस्रो पटकको सूचनापछि छनोट भएका मध्येबाट पहिलो चरणका १३ नेपाली इजरायल उडेका हुन् ।
गत अगस्ट महिनामा इजरायलको जेरुसेलमस्थित जनसंख्या तथा आप्रवासन प्राधिकरण कार्यालयमा आयोजित एक लाइभ लटरी प्रक्रिया मार्फत एक हजार १५६ महिला र नाै सय ५६ पुरुषसहित कुल दुई हजार ११२ जना चयन गरिएका थिए । बाँकी एक हजार ११२ जना कामदारको भिसा प्रक्रिया अगाडि बढाइएको हो।
उनीहरूमध्ये नाै सय १९ जनाको स्वास्थ्य परीक्षण भइसकेको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए । उनका अनुसार हालसम्म दुई सयभन्दा धेरै कनट्याक्ट आइसकेको छ। उनीहरूलाई पनि भिसा आएपछि क्रमशः पठाइनेछ। हालसम्म केयरगिभरका लागि एक हजार तीन सय श्रमिकहरू इजराइल पुगिसकेको विभागको तथ्याकं छ।
पहिलो चरणका सबै नेपालीलाई इजरायल पठाएपछि दोस्रो चरणमा रहेकालाई लगिने उनले नागरिकसँग बताए।
‘आज १३ जना नेपाली इजरायलका लागि उडेका छन्,’ उनले नागरिकसँग भने, ‘इजरायलले नेपालीको भिसा पठाउने बित्तिकै उनीहरू पालैपालो जानेछन्।
त्यहाँ नेपालीले इजरायली सरह नेपालीले पनि सेवा सुविधा पाउनेछन्।
उनका अनुसार दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नेहरू सुरक्षित छन् । इजरायलमा नेपाली श्रमिकलाई धेरै राम्रो छ ।उनीहरू सबै इजरायल जी टू जी मार्फत नै जाने गरेका छन् । त्यहाँ विभिन्न किसिमका लडाइँ भए पनि हाम्रो श्रमिकहरू घरभित्र तथा स्याहार केन्द्रभित्र रहेर काम गर्ने हुँदा धेरै सुरक्षित भएको उनी स्वीकार छन् ।
नेपालले वर्षौदेखि इजरायलमा केयरगिभरका रूपमा कामदार पठाउँदै आएको छ । प्रायः नेपाली त्यहाँका ज्येष्ठ नागरिकको स्याहारका लागि जाने गरेका छन् । भाषा तथा दक्षतालगायतका परीक्षण पूरा गरेका नेपाली कामदारलाई सरकारले इजरायल जान अनुमति दिएको विभागका अधिकारीहरू बताउँछन् ।
मंगलबार इजरायलमा केयरगिभरका लागि उडेका १३ जना नेपालीलाई विभागका महानिर्देशक सूर्यबहादुर खत्री र एचई नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरी बासले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका हुन्।