
काठमाडौं। सरस्वती माध्यमिक विद्यालय, टोखा-३ को ६४औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालयका प्रधानाध्यापक अर्जुन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी रहनु भएको थियो।
प्रमुख अतिथि प्रकाश अधिकारीले भन्नुभयो,”शिक्षा नै समाज विकासको मेरुदण्ड हो। टोखा नगरपालिकाले विद्यालयको स्तरोन्नतिका लागि आवश्यक सहयोग गर्नेछ। विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माण गर्न नगरपालिकाले विशेष योजना ल्याउनेछ।”
विशेष अतिथि उपप्रमुख मुरारी तामाङले भन्नुभयो,
“गुणस्तरीय शिक्षाका लागि विद्यालय र अभिभावकबीच सशक्त सहकार्य आवश्यक छ। यस विद्यालयले प्रदान गरिरहेको शिक्षाको स्तर राम्रो भएकाले विद्यार्थी संख्यामा वृद्धि हुनु स्वाभाविक हो।”
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजराज श्रेष्ठ, टोखा वडा ३ का वडा अध्यक्ष रमेश डङ्गोल, टोखा वडा २ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठलगायतको विशेष उपस्थिति रहेको थियो।
विद्यालयमा हाल १६१८ विद्यार्थी अध्ययनरत छन्, जसमा नर्सरीदेखि कक्षा १२ सम्मको अध्ययन गराइन्छ। एक कक्षामा ६० देखि ७० विद्यार्थी अध्ययन गर्छन्।
विद्यालयमा कुल २५ वटा भौतिक संरचना छन् भने ४० जना शिक्षकहरूले अध्यापन गराइरहेका छन्। नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन गराइन्छ।
विद्यालयमा कक्षा १ मा भर्ना हुने विद्यार्थीको भर्ना शुल्क रु ३०० रहेको छ भने माथिल्लो कक्षामा १०० बढ्दै
जान्छ।
सन् २०७५ सालमा विद्यालयले सफल साइन्स एक्जिबिसन आयोजना गरेपछि विद्यार्थी सङ्ख्यामा वृद्धि भएको बताइएको छ।