
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र ओमानका विदेश मन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अलबुसाइदीबीच सोमबार मस्कटमा द्विपक्षीय भेटवार्ता भएको छ ।
आठौँं हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहनुभएका परराष्ट्रमन्त्री डा. देउवा र ओमनी समकक्षी अलबुसाइदीबीच आज सो भेटवार्ता भएको हो ।
त्यस अवसरमा मन्त्री डा. देउवाले सो सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकामा विदेशमन्त्री अलबुसाइदीलाई बधाई ज्ञापन गर्नुभएको थियो।
साथै भेटका क्रममा नेपाल-ओमान सम्बन्धका विविध पक्षका साथै दुई देशबीचका विभिन्न क्षेत्रहरूमा सहकार्यको प्रवद्र्धनका उपायहरूका बारेमा पनि छलफल भएको थियो ।
भेटका क्रममा मन्त्री डा. देउवाले नेपालमा दूतावास स्थापना गर्न तथा ओमन काठमाडौँ सीधा हवाई उडान सुरु गर्न ओमन सरकारसँग आग्रह गर्नुभएको थियो।
यसै सन्दर्भमा नेपाल र ओमानबीच कूटनीतिक अध्ययन र तालिमका क्षेत्रहरूमा सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ।
यस सम्झौताले कूटनीतिक तालिम र कूटनीतिक क्षेत्रका सूचना आदानप्रदानमा सहकार्य गर्ने अवसर प्रदान गर्नेछ।