‘ प्रथम बागमती प्रदेश सहकारी सम्मेलन ’को लागि प्रदेश सहकारी संघ र खल्ती वालेट बीच सम्झौता


निराज रानाभाट, ललितपुर। ‘ प्रथम बागमती प्रदेश सहकारी सम्मेलन ’को लागि बागमती प्रदेश सहकारी संघ र डिजिटल वालेट खल्ती बीच दुई पक्षीय सम्झौता भएको छ ।

बागमती प्रदेश सहकारी संघ र खल्तीको बीचमा आगामी चैत ८ र ९ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने ‘ प्रथम बागमती प्रदेश सहकारी सम्मेलन ’ को लागि सहभागीहरुको रजिष्ट्रेशन खल्ती एप्लिकेशनबाट गराउने सहमतिपत्रमा एक कार्यक्रमका बीच खल्तीकाे कार्यालयमा हस्ताक्षर गरिएको छ।

उक्त पत्रमा संघको तर्फबाट अध्यक्ष रामशरण शर्मा घिमिरे र खल्तीको तर्फबाट व्यवसाय साझेदार वसन्त दहालले हस्ताक्षर गरेका छन्।

सम्मेलनमा सहभागी हुनका लागि सहकारीकर्मीहरुले खल्ती एपबाट सिधै रजिष्ट्रेशन गर्न सकिने र दर्ता प्रक्रिया प्रभावकारी हुने विश्वास हस्ताक्षर कार्यक्रममा दुवै तर्फका हस्ताक्षरकर्ताहरुले लिएका छन् ।

संघका तर्फबाट महासचिव नेत्रराज पौडेल र व्यवस्थापक रुपक घिमिरे, संघको प्राविधिक सहयोगी पायोनियर एसोसशिएट प्रा.लि.का वरिष्ठ प्रबन्धक सन्दीप रानाभाटलगायत खल्तीको तर्फबाट विभागीय प्रमुख दिवाकर बाँस्कोटा र प्राविधिक सफल श्रेष्ठलगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।