
गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४.६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लगानी गर्ने गरी ऋण सम्झौता भएको छ ।
उक्त आयोजनामा लगानी सम्बन्धी सम्झौतामा बिहिवार बुढीगण्डकी हाइड्रोपावर प्रालिको तर्फबाट अध्यक्ष खगेन्द्र न्यौपाने र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हस्ताक्षर गरेका हुन् । कुल ९६ करोड ३८ लाख ३० हजार रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी लगानी हुनेछ ।
प्रबर्दक कम्पनीका अनुसार ऋण लगानीतर्फ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ६७ करोड ४६ लाख ८० हजार रुपैयाँ लगानी गर्नेछ भने वांँकी २८ करोड ९१ लाख ५० हजार रुपैयाँ स्वपूँजी लगानी हुनेछ । आयोजनाबाट वार्षिक २७.३७९ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । वर्षामा १८६२१ गिगावाट आवर र हिउँदमा ८.७५ गिगावाट आवर बिजुली उत्पादन हुनेछ ।
कम्पनीका अध्यक्ष खगेन्द्र न्यौपाने, प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरे, निर्देशक सरोज धिताल, जोन घले, ईन्द्र बहादुर ढकाल, र बिनोद थापासहितको अनुभवी समूहले आयोजना निर्माण गर्न लागेका हुन् । यो समूहले यसअघि सोही क्षेत्रमा नै तोकिएको अवधिभन्दा ६ महिना अघि ४.५५ मेगावाट क्षमताको विकास हाइड्रोपावर जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याईसकेको छ ।
यो समूहले यस बुढीगण्डकी हाईड्रोपावर आगामी १८ महिना भित्र सञ्चालनमा ल्याउने जनाएको छ । आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग २०८० असार २१ मा विद्युत् खरिद बिक्री सम्बन्धी सम्झौता (पीपीए) भएको थियो । साथै आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको कम्पनीले जनाएको छ।
कार्यक्रममा बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले यो टिमले बिकास हाइड्रोपावर समयमै निर्माण गरेर मन जितेकाले आफुहरुले अर्को प्रोजेक्टमा पनि लगानी गरेको बताए ।
गोरखा जिल्लाको धार्चे गाउपालिकामा निर्माण शुरु गरिएको यस आयोजनाको नेतृत्व गैरआवासीय नेपाली संघ एनआरएनए आईसिसिका उपाध्यक्ष एबं सफल ब्यबसायी खगेन्द्र न्यौपानेले गरेका छन । बिकाश हाईड्रो पावरलाई सफलतापूर्वक सम्पन्न गरेपछि देश बिकाशमा सानो भने पनि थप योगदान गर्न सुपर माछाखोला जलविधुत आयोजना ४.६ मेघावाट र साङ्ग्रीला हाईड्रोपावर २४ मेघावाट शुरु गरेको अध्यक्ष खगेन्द्र न्यौपानेले बताए ।
मलेसियाका अत्यन्तै सफल ब्याबसायी न्यौपानेले देश बिकाशको महत्वपुर्ण आधार जलस्रोत,जंगल र जमिन नै भएको जनाउदै गैरआवासीय नेपालीको पनि देश बिकाशमा ठुलो योगदान रहेको बताए । उनले आफूले अघिल्लो बिकास हाईड्रोजस्तै अन्य २ हाइड्रोलाई पनि समय सिमा भन्दा पहिले नै सम्पन्न गरेर लगानीकर्ताहरुको मन जित्ने बताए ।