अब दूधको मूल्य ६५.५० रुपैयाँ कायम
ईकोनामिक खबर, काठमाण्डौ । सरकारले दूधको मूल्य बढाउने निर्णय गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले किसानलाई राहत दिने गरी दूधको मूल्य बढाइएको जानकारी दिइन्। उनका अनुसार प्रतिलिटर ९ रुपैयाँले बढेसँगै अब दूधको मूल्य ६५.५० रुपैयाँ कायम भएको थियो। अहिले दूधको मूल्य प्रतिलिटर ५६.४० रुपैयाँ रहेको छ।
दुधको मूल्यवृद्धिको भार आमउपभोक्तामा पर्ने भएको छ । यसले अब दूधको उपभोक्ता मूल्यमा भारी वृद्धि गरिने छ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थाले फ्याट निकालिएको दूध प्रतिलिटर ८६ रुपियाँमा बिक्री गर्दै आएको थियो । अब उसले उक्त दूधको मूल्य कम्तिमा पनि ९६ रुपियाँ कायम गर्नेछ ।
यस मूल्यवृद्धिसँगै दूधजन्य अन्य परिकारको मूल्य पनि बढ्नेछ । गएको पुसमा डेरी व्यवसायीहरुले एकतर्फीरुपमा दूधको मूल्य प्रतिलिटर १४ रुपियाँले बढाउने काम गरेका थिए । किसानबाट खरीद दर्ता महंगो परेको भन्दै उनीहरुले मूल्य बढाउने काम गरेका थिए ।