इकोनामिक खबर,
काठमाडौं। हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडको साधारण सेयर (आइपीओ) मा दोस्रो दिनसम्म १६ लाख ७० हजार ९०० कित्ताका लागि आवेदन परेको छ । कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार २१ हजार ५८० जना आवेदकले १६ करोड ७० लाख ९० हजार रुपियाँको लागि आवेदन दिएका हुन् । कम्पनीले वुधबारदेखि जारी गरेको साधारण शेयरमा दोस्रो दिन बिहीबार साँझ ५ बजेसम्ममा १.२५ गुणा बढीको आवेदन परेको हो।
कम्पनीले निष्काशन गरेको शेयरमध्ये कर्मचारीहरु र सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको १३ लाख ६६ हजार २०० कित्ता शेयरमा चैत्र २० गतेबाट आवेदन माग गरेको थियो।
कूल १४ लाख ८५ हजार कित्ता साधारण शेयरमध्ये कर्मचारीहरुलाई तीन प्रतिशत अर्थात ४४ हजार ५५० कित्ता र सामूहिक लगानी कोषलाई पाँच प्रतिशत अर्थात ७४ हजार २५० कित्ता छुट्टाइएको छ।
जलविद्युत् कम्पनीको शेयरमध्ये प्रतिमेगावाट लागत कम भएका कारण लगानीकर्ताहरुको उत्साहजनक सहभागीताले शेयर निष्काशन भएको दोस्रो दिनमै मागभएभन्दा १.२५ गुणा बढी शेयर भएको कम्पनीका प्रबन्धक प्रकाश दुलालले बताबताउनुभयो।
कम्पनीले रामेछाप र दोलखा जिल्लाको सिमा भएर बहने खिम्ति खोलामा कम्पनीले १२ प्रतिमेगावाटको उपल्लो खिम्ति र ७ प्रतिमेगावाटको अपर खिम्ति गरी कुल १९ मेगावाटका आयोजनाहरु निर्माण गरिरहेको छ।
विवरण पत्रमा उल्लेख भए अनुसार १९ प्रतिमेगावाट निर्माण गर्नको लागि लागत करिब तीन अर्ब १५ करोड रहेको छ । यसरी हेर्दा प्रतिमेगावाट लागत करिब १६ करोड ५६ लाख मात्र रहेको छ भने दुवै आयोजना २०७६ आषाढ मसान्तमा सम्पन्न हुने कम्पनीले जनाएको छ।