ईकोनोमिक खबर, काठमाडौं । राजधानीको भृकुटीमण्डपमा १ महिना सम्म ‘जुत्ता चप्पल व्यापार प्रबद्र्धन मेला’ चलिरहेको छ । नेपालमा उत्पादित जुत्ताचप्पललाई प्रवद्र्धन गर्न फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशनले आयोजना गरेको यो मेला पुस २ गतेसम्म मेला आयोजना हुनेछ ।
मेलामा अपेक्षाभन्दा धेरै मानिसहरुको उपस्थिति रहेको मेला संयोजकले बताएका छन् । उनले जाडो मौसमलाई लक्षित गरी मेला आयोजना गरिएको बताउँदै उपभोक्तालाई १५ देखि ५० प्रतिशतसम्म सहुलियतको व्यवस्था गरिएको बताए ।
एशोसियशनका अध्यक्ष नानीराज घिमिरेले नेपाली जुत्ताचप्पल पनि स्तरीय र गुणस्तरीय र उपभोक्ताको चाहनाअनुसारका विभिन्न मोडलमा नेपालमा उत्पादन हुन्छन् भनेर देखाउन पनि यस मेलाले सहयोग गर्ने बताए ।
मेलामा नेपालमा उत्पादित बिएफ डियरहिल सुज, रोयल सुज, रन सुज, कोशेली, फस्ट वाक, क्रस रोड, केटिएम, भिएनएस, स्टाइल सुजलगायतका ब्राण्ड राखिएका छन् ।
उनले तीन हजारभन्दा बढी मोडलका जुत्ताचप्पल एकैठाउँमा उपलब्ध गराइएकाले ग्राहकलाई जुत्ताचप्पल खरिद गर्न सहज भएको बताउँदै मेलामा रु सयको चप्पलदेखि रु १० हजारको जुत्तासम्म राखिएको बताए ।
यस जुत्ता मेला बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।