ईकोनोमिक खबर,काठमाण्डौं।
ग्रेटब्रिटेनकी महारानी एलिजावेथको निधनमा नेपालमा ३ दिन शोक मनाउने नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरेको एकजना मन्त्रीले बताएका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए।
उनका अनुसार सरकारले ३ दिने सार्वजानीक बिदा दिने निर्णय भने गरेको छैन, तर निधन भएकी महारानीको सम्मानमा शनिबार देखि ३ दिन नेपालभरिका सरकारी कार्यालय एवम् विदेश स्थित नेपाली दूतावास तथा नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाएर शोक व्यक्त गर्ने निर्णय भएको उनले बताए।
नेपालको पुरानो दौत्य सम्बन्ध रहेको देशकी महारानीको निधन भएकोले सम्मानमा उक्त निर्णय लिइएको उनले बताए।
ब्रिटिशमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा बिहीवार राति बाल्मोरलमा निधन भएको थियो।
उनी ७० वर्षसम्म गद्दीनसीन थिइन्। महारानी एलिजाबेथले गद्दीमा रहेकै बेला विसं २०१७ र २०४२ सालमा दुई पटक नेपालको भ्रमण गरेकी थिइन्।
नेपालका पूर्वराजा, राष्ट्रपति तथा प्रधानमन्त्रीद्वारा शोकव्यक्त
सरकारी समाचार एजेन्सीका अनुसार शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाण्डू स्थित ब्रिटिश दूतावासमै पुगेर शोक व्यक्त गरेकी छन्।
उनले दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरेको राससले जनाएको छ।
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि महारानीको निधनमा ूगहिरो दुःख व्यक्त गरेका छन्।
त्यस्तै नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले पनि महारानी एलिजाबेथको निधनप्रति गहिरो दुस्ख व्यक्त गरेका छन्।