ईकोनोमिक खबर, काठमाडौं। दशैं व्यापार प्रवद्र्धनका लागी जुत्ता चप्पल मेला २०७९ आज भदौ ५ गतेदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । मेला भदौ ५ देखि २० गतेसम्म सञ्चालन हुने आयोजक फुटवयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपालले जनाएको छ ।
जुत्ता चप्पल मेलामा ग्राहकले १० देखि ५० प्रतिशतसम्म छुट सुविधा र विभिन्न अफर पाउँनेछन् । तीसभन्दा धेरै नेपाली ब्राण्डका करिव हजार मोडलका जुत्ता चप्पल राखिने यो मेला बिगतको भन्दा विशेष हुने आयोजकको भनाई छ ।
फुटवयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपालका अध्यक्षले बाह्य ब्राण्डका जुत्ता भन्दा नेपाली जुत्ता चप्पलको उत्पादन र बजारीकरणले पछिल्लो समयमा उपभोक्ताहरुको मन जितेको बताए ।
उनले ६० प्रतिशतभन्दा धेरै बजार हिस्सा नेपाली उत्पादनले ओगट्न सफल भएको पनि बताए । युक्रेन– रुसको युद्ध, कोरोना महामारी तथा बैंकको बढ्दो ब्याजदरले कच्चा पदार्थ आयातमा समस्या पारेको उपाध्यक्ष बन्जाडेले बताए ।
बाग्मती प्रदेशका उद्योग तथा बाणिज्य मन्त्री मिलन बाबु श्रेष्ठले स्वदेशी उत्पादनका बारेमा आमउपभोक्तालाई स्थलगत अवलोकन गराई आफ्ना उत्पादनका बारेमा जानकारी गराउने, स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न मेलाको माध्यमबाट व्यापक प्रचार प्रसार गर्ने, विदेशी जुत्ता चप्पल तथा छालाका वस्तुहरुको आयातलाई प्रतिस्थापन गरी यस्ता वस्तुको उत्पादनका क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउने उद्देश्य रहेको बताउनु भयो।
उद्योग बाणिज्य महासंघका ेउपाध्यक्ष दिनेश श्रेष्ठले यस मेलाले नेपाली बस्तुहरुको उत्पादन र बजारीकरणमा सरकारले प्रत्यक्ष सहयोग गर्नुपर्ने बताउनु भयो । प्रदेश उद्योग तथा बाणिज्य मन्त्री, उद्योग बाणिज्य महासंघका उपाध्यक्ष र यस सँघका प्रतिनिधिहरुले उत्पादकहरु सँग भेटी उनीहरुका गुनासा तथा राय सुझाव संकलन गर्नुभयो।
आम जनमानसमा नेपाली उत्पादन बस्तुको प्रयोग गर्ने बढि रहका छन, नेपाली बस्तु उत्पादनमा केही कमी कमजोरी भएमा त्यसलाई सच्याउँदै आफ्ना उत्पादनहरुमा सुधार ल्याउन पनि यस मेलाले सहयोग पुग्ने विश्वास लिइएको छ ।