ईकोनोमिक खबर, काठमाडौं। सरकारले आन्तरिक उडान तथा लामोदुरीका यातयात भदौ मसान्तसम्म स्थगित गर्ने निर्णय गरेको छ। यसअघि भदौ १५ गतेदेखि हवाई उडान खोल्ने तयारी सरकारले गरेको थियो। आइतबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो।
कोरोना संक्रमण झनझन बढ्दै गएपछि भदौ मसान्तसम्म उडान स्थगित गर्ने निर्णय लिनुपरेको सरकारका एक मन्त्रीले जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय उडान भने शर्तसहित कायमै राख्ने सरकारले भनेको छ। कुनै हवाई कम्पनीले कोभिड १९ संक्रमणका लागि पीसीआर टेष्ट, होटल क्वारेन्टाइन सहितको खर्च व्यवस्थापनको जिम्मा लिएमा बाहिरबाट यात्रु ल्याउन सकिने बाटो सरकारले खुला राखेको छ।