पूर्वी नवलपरासी जिल्लाका सबै सरकारी कार्यालय कावासोतीमा


नवलपरासी, स्थानिय संवाददाता। पूर्वी नवलपरासी जिल्लाका सबै सरकारी कार्यालयहरूलाई एउटै स्थानमा राखिने गरी सदरमुकाम कावासोतीमा कामको थालनी गरिएको छ।

कावासोती–३ स्थित करिब १७९ बिगहा जग्गा क्षेत्रफलमा सबै सरकारी कार्यालयका भवन निमार्णका लागि कागजी प्रक्रिया अघि बढाइएको हो।

पूर्वी नवलपरासीका सरकारी कार्यालय एउटै स्थानमा व्यवस्थापनका लागि कावासोतीमा कार्यालयको आगामी वैशाख ७ गते शिलन्यास गरिने कार्यक्रम तय भएको छ।

शिलन्यासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका अन्य संघीय सरकारका मन्त्री, प्रदेश सरकारका प्रमुख, मुख्यमन्त्री र अन्य मन्त्री आउने कार्यक्रम तय भएको बताइएको छ।

सो कार्यक्रमलाई भव्यरूपमा सफल बनाउने तयारी भइरहेको जिल्ला समन्वय समिति पूर्वी नवलपरासीका प्रमुख चेसराम आलेले जानकारी दिनुभयो।